समाचार

औषधी खरीदमा अनियमितता गर्नेलाई जिम्मेवारीबाट हटाउ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले औषधि खरिद प्रक्रियामा अनियमितता गर्नेहरुलाई जिम्मेवारीबाट हटाउन माग गरेको छ ।

कोरोना रोकथामसम्बन्धी मेडिकल सामग्री ढिलासुस्ती र अनियमितता गर्नेलाई तत्काल जिम्मेवारी हटाएर कारवाहीको दायरामा ल्याउन कांग्रेसले माग गरेको हो ।

यो काम माफी योग्य नभएको कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एक शुक्रबार विज्ञप्ति जारी गरेका छन् ।

उनले अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याएको उल्लेख छन् ।

त्यसको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने उनको तर्क छ ।

आवश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफीयोग्य नभएको उनको भनाई छ ।

ढिलासुस्ती र अनियमिततामा सामेललाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन उनले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

मेडिकल सामग्री खरिद प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइरहेको एवं समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको उनले बताएका छन् ।

यसअघि चीनबाट ल्याउने मेडिकल सामग्रीको खरीद प्रक्रिया विवादित बनेपछि सरकारले खरीद प्रक्रिया खारेज गरेको छ । यो खरीद सेनाको जिम्मा दिने तयारी सरकारले गरेको छ ।