स्वास्थ्य

बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट

काठमाडौं । कोरोना संक्रमित व्यक्ति भेटिएका तीन जिल्ला बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट गरिने भएको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा कोरोनाको परिक्षणलाई वृहत बनाउने निर्णय गरेको हो । यसअघि विदेशबाट आएका नेपालीमा मात्र देखिएको यो रोग शनिबार पहिलो पटक समुदायमा समेत देखिएको छ ।

सोहीकारण अब ती जिल्लामा कारोनाको शंका लागेका, संक्रमितको आसपास रहेका सबै मानिसलाई परिक्षणको दायरामा ल्याइने भएको छ ।

त्यसक्रममा पोजेटिभ आएका नमूनालाई केन्द्रिय प्रयोगशालामा ल्याएर प्रमाणित गरिने सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार अब स्थानीय तहसम्मको समेत आवतजावतमा कडाई गरी एक समुदायबाट अर्को समुदायसम्म कोरोना फैलन नदिने गरी तयारी गरिएको छ ।

सरकारले स्वस्थोपचारमा संलग्न चिकित्सकको सुरक्षालाई समेत उत्तिकै महत्व दिने निर्णय गरेको छ ।