फिचर

अमेरिकामा कोरोना संक्रमितको संख्या तीन लाख नाघ्यो, आठ हजार बढिले गुमाए ज्यान

न्यूयोर्क

अमेरिकामा कोरोना भाइसर सक्रमितको संख्या तीन लाख नाघेको छ । मार्च सुरु देखि तीब्र गतिमा बढि रहेको कोरोना संक्रमितको शनिबार तीन लाख नाघेको हो ।  अमेरिकामा भाइरसका कारण मृत्यु हुनेको संख्या पनि आठ हजार नाघेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आगामी साता मृत्युदर अझै बढ्ने बताएका छन् । मार्च १ तारिखको दिनसम्म अमेरिकामा भाइरसका कारण एक जनाको मात्र मृत्यु भएको थियो । संक्रमित पनि १०० जनाभन्दा कम थिए ।

मार्च दोस्रोसातासम्म पनि ट्रम्प भाइरस छिट्टै नियन्त्रणमा आउने दावी गरि रहेका थिए । त्यसपछि मात्र गम्भीर बन्दै उनले जनस्वास्थ्य संकटकाल र सामाजीक दूरी कायम नीति अंगिकार गरे । तर, उक्त कदम चाल्न ढिलो भइ सकेको कारण संक्रमण विस्तार रोकिएन । पर्याप्त मात्रामा जाँच गर्न नसक्दा संक्रमण छिटो छिटो फैलियो ।

अझै पनि कतिपय राज्यमा पर्याप्त जाँच हुन नसकेको गुनासो स्वास्थ्यकर्मीहरुले गरि रहेका छन् । टेक्सास, फ्लोरिडाजस्ता घनाबस्ती भएका राज्यका गभर्नरले जाँच र नागरिकलाई घरैमा बस्ने आदेश जारी गर्न पनि ढिला गरे । अझै पनि आठ रिपब्लिकन गभर्नर भएका राज्यले यो आदेश जारी गरेका छैनन् । अर्थतन्त्र चालु भएमा आफुलाई राजनीतिक फाइदा पुग्ने ट्रम्प लगायत रिपब्लिकन बृत्तको बुझाइ छ । त्यसैले उनीहरुले नागरिकलाई जरुरी नपरि घर बाहिर निस्किने आदेश जारीमा ढिला गरेका हुन् । त्यसको परिणाम भने महंगो पर्न सक्ने देखिएको छ ।

अहिले विश्वभरमा संक्रमितको संख्या १२ लाख पुग्न लागेको छ ६४ हजार बढिले ज्यान गुमाइ सकेका छन् । स्वास्थ्यकर्मीहरुले अमेरिकामा मृतकको संख्या एक लाख देखि दुई लाख ४० हजार पुग्नसक्ने आँकलन गरेका छन् ।