स्वास्थ्य

बागलुङकी कोरोना संक्रमित महिलाको परिवारमा कोरोना नेगेटिभ

पोखरा । नेपालकी छैटौं कोरोना संक्रमित बागलुङ नगरपालिकाकी ६५ वर्षीया महिलाको परिवारमा भने कोरोना नसरेको पाइएको छ । उनको परिवारको कोरोना परीक्षणबाट नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

उनका ससुरा, बुहारी र दुई नातिको थ्रेट स्वाब शुक्रबार परीक्षणका लागि पठाइएको थियो। चारै जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको धौलागिरि अञ्चल अस्पतालले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरु सबैको नतिजा नेगेटिभ आएको हो ।

४ चैतमा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

उनीसँगै आएकी अर्की एक युवतीमा समेत कोरोना संक्रमण देखिएको छ । सरकारले यस जिल्लामा परिक्षणको दायरा वृहत बनाउने घोषणा गरिसकेको छ ।