समाचार

मेडिकल सामग्री खरीद पारदर्शी हुन्छ : नेपाली सेना

काठमाडौं । नेपाली सेनाले कोरोनासँग सम्बन्धित मेडिकल सामग्रीको खरीद पारदर्शी हुने दावि गरेको छ ।

आइतबार पत्रकारहरुसँग भिडियो कन्फ्रेन्समार्फत गरेको अन्तरक्रियामा सेनाले उक्त दावि गरेको हो । स्वास्थ्य सामग्री खरिदको विषय विवादित बनेपछि यो जिम्मा सरकारले सेनालाई दिएको छ ।

तर, बाहिर सेनालाई दिने निर्णयको समेत आलोचना भइरहेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले विपदमा सरकारले प्रयोग गर्न सक्ने संवैधानिक व्यवस्था बमोजिम सेनाले स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको भन्दै यसलाई पारदर्शी बनाउने दावि गरे ।

‘मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रायलसँग समन्वय गरी रक्षा मन्त्रायलले नेपाली सेनामार्फत जीटुजी प्रक्रियाबाट मेडिकल सामग्री खरिद गर्ने निर्णय गरेको थियो ।

सेनाले मेडिकल सामग्री खरीदको प्रक्रिया शुरु गरिसकेको दावि गरेको छ । यसअघि ओम्नी समूहले गरेको खरीद विवादित बनेको थियो ।

पाण्डेका अनुसार सेनासहित विभिन्न निकाय रहेको ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ले खरिद गर्न आवश्यक सामग्रीको सूची तयार पारिहेको छ । यो सेन्टरको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालले गरेका छन् ।

सैनिक प्रवक्ता पाण्डेले कोभिड–१९ को स्थानीय संक्रमण देखिएको सन्दर्भमा सेना आफूलाई प्राप्त जिम्मेवारीबाट पछि नहट्ने उल्लेख गरे ।

सेनाले नागरिकको जीवन रक्षाका लागि आवश्यक उपकरण गुणस्तरीय र प्रतिष्पर्धी मूल्यमा यथाशिघ्र हासिल गर्नुपर्ने चूनौति रहेको उनको भनाई छ ।

उता, आइतबार नै कोरोना सम्बन्धी उच्चस्तरीय संयन्त्रले निजी तथा जीटूजी प्रक्रिया दुबैबाट स्वास्थ्य सामग्री खरीद गर्ने निर्णय गरेको छ ।