समाचार

लकडाउनमा पनि कृषकले नियमित काम गर्न सक्ने

काठमाडौं । लकडाउनमा पनि कृषकले भने आफ्नो काम रोक्नु नपर्ने भएको छ । किसानले बाली लगाउन र उठाउन निर्वाध रुपमा पाउने भएका छन् ।

तर बाली लगाउँदा र उठाउँदा कृषकले समेत कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीबारे पूर्ण पालना गर्नुपर्नेछ ।

सरकारले ११ चैतबाट लकडाउन शुरु गरेको हो । यो २५ चैतसम्म जारी रहनेछ । त्यसपछि पनि केही समय लकडाउन लम्बिने सम्भावना छ ।

यस अवस्थामा कृषि उपजको उत्पादन नघटोस भनेर सरकारले यस्तो निर्णय गरेको हो ।

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बालि लगाउन र उठाउन लकडाउनले कुनै अवरोध गर्ने छैन ।

सम्बन्धित स्थानीय तह र त्यहाँस्थित सुरक्षा निकायले संक्रमणबाट बच्न गरेको तयारीबारे भने अनुगमन गर्नुपर्ने भएको छ ।

मन्त्रालयले स्थानीय तहहरुलाई खाद्यान्न बैंक स्थापनाको समेत सुझाव दिएको छ । केही स्थानीय तहमा यसको शुरुवात समेत भइसकेको छ ।

बिभिन्न निकायबाट जम्मा भएको खाद्यान्न जम्मा गर्ने र संकलित खाद्यान्न प्याकिङ् गरेर तोकिएको मापदण्ड पुरा गरी वितरण गर्नुपर्नेछ ।

बुटवल र धरान उपमहागरपालिकाले यसको शुरुवात गरिसकेका छन् ।