स्वास्थ्य

कांग्रेस सभापति देउवाबाट कोरोनाबारे पूर्वप्रधानमन्त्रीसँग टेलिफोन वार्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् ।

उनले कोरोनाको संकटसँग जुध्न आवश्यक रणनीति तयार गर्नु पर्नेबारे छलफल गरेको बताइएको छ ।

उनले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा वार्ता गरेका हुन् ।

आइतबार सभापति देउवाले पूर्वप्रधानमन्त्रीहरूसँग टेलिफोनमा वार्ता गरी कोरोना संक्रमणसँग जुध्न सरकारले गरेका तयारी र अब चाल्नु पर्ने कदमबारे छलफल गरेका हुन् ।

सभापति देउवाको सचिवालयका अनुसार कोरोना संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यवद्ध भएर गम्भीर ढंगले काम गर्न पूर्वप्रधानमन्त्रीसँग कुराकानी गरेका हुन् ।

देउवाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रचण्ड, वरिष्ठ नेता खनाल र नेपालसँग सरकारका कमीकमजोरी सच्याएर जानुपर्ने बताएका थिए ।

वर्तमान संकट नेपाल र नेपालीमाथिको संकट भएको भन्दै दल भन्दा माथि उठेर समाधानमा लाग्नु पर्ने देउवाले बताएका छन् ।

सरकारले गरेको प्रयत्नलाई अझ प्रभावकारी बनाउने सन्दर्भका सभापतिले छलफल गरेका हुन् । नेपालमा अहिलेसम्म कूल ९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।