विश्व

कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसले संसारभर उत्पन्न गराएको त्रास अझै जारी छ ।

यस भाइरसले अहिलेसम्म ६९ हजार ३ सय ५० जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार बिहानसम्म संसारभर १२ लाख ७२ हजार मानिसमा संक्रमण भएको छ ।

उनीहरुमध्ये दुई लाख ६० हजार मानिसमा संक्रमण ठिक भइसकेको छ । यसरी निको हुनेहरु अधिकांश चिनियाँ नागरिक हुन् ।

इटलीमा केही दिन यता मृत्युदर उल्लेख् घटेको छ । आइतबार इटलीमा मात्र ५ सय २५ जनाको मृत्यु भएको छ । यो मृत्युदर ५० प्रतिशतभन्दा पनि कम हो ।

१९ मार्चयता इटलीमा २४ घण्टाको अन्तरालमा मृत्यु हुने यो सबैभन्दा कम संख्या हो । इटलीमा मात्र कोभिड १९ संक्रमणमा परी १५ हजार ८ सय ८७ मानिसको ज्यान गइसकेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ६ सय ७४ जनाको मृत्यु भएको छ । स्पेनमा पनि मृत्युदर भने नियन्त्रणमा आएको छ ।

एक हप्तायता २४ घण्टा भि मृत्यु हुने स्पेनमा पनि यो सबैभन्दा कम संख्या हो । यस मुलुकमा अहिलेसम्म १२ हजार ६ सय ४१ मानिसको ज्यान गइसकेको छ ।

स्पेनमा १ लाख ३१ हजार मानिसमा यसको संक्रमण पुष्टी भइसकेको छ । अमेरिकामा भने यसको संक्रमण बढ्दो रहेको छ ।

यस मुलुकमा ३ लाख ३५ हजार मानिसमा भाइरसको संक्रमण देखिएको छ । यहाँ मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६२ पुगेको छ ।

फ्रान्समा कूल ८ हजार मानिसको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा यहाँ मृत्यु हुनेको संख्या ३ सय ५७ रहेको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ६ सय २१ जनाको ज्यान गएको छ । कूल मृत्यु हुनेको संख्या भने ४ हजार ९ सय ३४ रहेको छ । बेलायतमा संक्रमित संख्या ४८ हजार हो ।
भारतमा ३ हजार ५ सय ७७ जनामा कोरोना देखिएको छ । यहाँ ८३ जनाको मृत्यु भएको छ ।

आइतबार मात्र भारतमा ५ सय ५ जना नयाँ संक्रमित भेटिए । नेपालमा ९ जनामा यसको संक्रमण देखिएको छ ।

त्यसमध्ये एक जना निको भइसकेका छन् । ८ जनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।