स्वास्थ्य

भारतीय प्रधानमन्त्रीसहित सांसदको ३० प्रतिशत तलव कटौती हुने

काठमाडौं । भारतीय प्रधानमन्त्रीसहित सांसदको तलब कटौती हुने भएको छ । मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री, मन्त्रीपरिषद्का सदस्य र सांसदहरुको तलवबाट ३० प्रतिशत कटौती गर्ने निर्णय गरेको हो ।

पछिल्ला दिनमा भारत कोरोनाको संक्रमण तिब्र रुपमा फैलिरहेको छ । यसविरुद्ध लड्न भारतलाई समेत हम्मेहम्मे पर्ने देखिएको छ ।

भारतीय सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले सांसदको तलब कटौती गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको जानकारी दिए ।

निर्णय अप्रिल १ देखि लागू हुने भएको छ । प्रस्ताव पारित भएपछि सांसदको १२ महिनाको तलबमा ३० प्रतिशत कटौती हुनेछ ।

उनीहरुले भत्ता पनि पाउने छैनन् । कटौटी गरिएको रकम कोरोना भाइरसविरुद्धको लडाइँमा खर्च गरिने भएको छ ।

सांसदको तलव कटौतीसँगै राष्ट्रपति, उपराष्ट्रपति र सबै राज्यका गभर्नरले पनि आफ्नो इच्छाले तलबको ३० प्रतिशत रकम कटौती गरेका हुन् ।

सांसदलाई क्षेत्रीय विकासको लागि दिइँदै आएको कोष एमपीलेड फण्ड पनि दुई वर्षसम्म निलम्बित भएको हो ।

यसरी निलम्बन भएका कोषहरुको रकम कोरोना भाइरसको संक्रमण हटाउन प्रयोग गरिने भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ६ सय ९३ नयाँ संक्रमित व्यक्ति फेला परेका छन् ।

भारतमा संक्रमितको संख्या ४ हजार नाघेको छ । भारतमा समग्र मृतकको संख्या १ सय ९ पुगेको छ ।