फिचर

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, साढे तीन लाख बढि संक्रमित

न्यूयोर्क

अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार सोमबार अपरान्हसम्ममा १० हजार ५०० जनाको भाइरस संक्रमणबाट मृत्यु भइ सकेको छ भने संक्रमितको संख्या तीन लाख ५६ हजार नाघेको छ ।

अहिलेसम्म १९ हजार जनाले भाइरस संक्रमणलाई जितेर स्वास्थ्य लाभ गरेका छन् । अमेरिकामा सबैभन्दा धेरै संक्रमित न्यूयोर्कमा रहेका छन् । राज्यमा संक्रमितको संख्या एक लाख ३० हजार नाघेको छ भने पाँच हजार सात सय बढिले ज्यान गुमाइ सकेका छन् । न्यूयोर्कको छिमेकी राज्य न्यूजर्सीमा समेत ४१ हजार बढि संक्रमित र एक हजार बढिको ज्यान गइ सकेको छ ।

न्यूयोर्क गभर्नर एन्ड्रु कुम्मोले सोमबारको पत्रकार सम्मेलनमा पछिल्ला दुई दिनमा संक्रमित एवं अस्पताल भर्ना हुनेको संख्या बृद्धिदर घटेको कारण स्थिती सुधारोन्मुख देखिएको बताए । न्यूयोर्क सरकारले संक्रमितको जाँच एवं उपचारमा सुरु देखिनै तीब्रता दिएको थियो । तर, रिपब्लिकन गभर्नर रहेका कैयन् राज्यले सुरुवाती जाँचमा ढिलाइ गरेका कारण भाइरसले पछिसम्म विस्तारको मौका पाएको छ ।

फ्लोरिडा, टेक्सास, जर्जियाजस्ता घनावस्ती भएका राज्यले जाँचमा तीब्रता दिन एवं नागरिकलाई घरैमा बस्ने आदेश जारी गर्न समय लगाए । सोही कारण अहिले ती राज्यमा भाइरस संक्रमितको संख्या बढि रहेको छ । लुइजियाना राज्यका चर्चहरुले गभर्नरको आदेश नमानि आइतबारे प्रार्थनासभा जारी राखेका कारण त्यहाँ पनि भाइरस तिब्र रुपले विस्तार भएको छ । न्यूयोर्क र न्यूजर्सी पछि मिसिगन, क्यालिफोर्निया लुइजियाना फ्लोरिडा पेन्सिलभेनिया मासाचुसेट्स र इलाइनोइसमा संक्रमितको संख्या १० हजार माथि रहेको छ ।

राष्ट्रपति डोनाल्ट ट्रम्पले नै मार्च दोस्रो सातासम्म भाइरसले अमेरिकालाई खासै प्रभाव नपार्ने बताइ रहेका कारण उनी पक्षधर गभर्नरहरुले संक्रमण रोक्नभन्दा अर्थतन्त्र चालु गर्नमै ध्यान केन्द्रित गरे । उनीहरुले भाइरस जाँचमा पनि ढिलाइ गरेका कारण अझै पनि ठूलो संख्यामा संक्रमितको विवरण आउन बाँकी रहेको जनस्वास्थ्य विज्ञहरुको अपेक्षा छ ।

भाइरस संक्रमितको संख्यामा अमेरिकाले विश्वका सबै देशलाई अघिल्लो साता नै उछिनि सकेको थियो । मृतकको संख्यामा भने इटाली अग्रस्थानमा छ । त्यहाँ १६ हजार बढिले ज्यान गुमाएका हुन् भने स्पेनमा १३ हजारको मृत्यु भइ सकेको छ । तर,  अमेरिकामा सर्वाधिक संक्रमित रहो कारण मृतकको संख्यामा नि अमेरिकाले सबैलाई उछिन्ने जनस्वास्थ्यकर्मीहरुको प्रक्षेपण छ । ह्वाइट हाउसका विज्ञहरुले अमेरिकामा एक लाख देखि दुई लाख ४० हजारसम्मको ज्यान जानसक्ने आँकलन गरेका छन् ।