स्वास्थ्य

कोरोनाबाट मर्नेको संख्या ७४ हजार ६ सय, साढे १३ लाखमा संक्रमण

काठमाडौं । संसारभर कोभिड १९ को त्रास जारी छ । ३१ डिसेम्बर २०१९ मा चीनको बुहानमा पहिलो पटक देखिएको यस भाइरसले विश्वका करीव सबैजसो मुलुक प्रभावित बनेका छन् ।

सोमबार रातीसम्मको तथ्यांक अनुसार कोरोनाका कारण विश्वभर ७४ हजार ६ सय ७८ मानिसको ज्यान गएको छ । विश्वभर १३ लाख ४६ हजार दुई सय ९९ जनामा यसको संक्रमण पुष्टी भएको छ ।

त्यसमध्ये नेपालमा ९ जनामा संक्रमण पुष्टी भएको छ । २ लाख ५३ हजार ७ सय जना भने निको भएर घर फर्किसकेका छन् ।

संसारभरका मुलुकमध्ये सबैभन्दा धेरै मानिस इटलीमा मरेका छन् । सोमबार इटलीमा ६ सय ३६ जनाको ज्यान गएको छ ।

इटलीमा मृत्यु हुनेको कुल संख्या १६ हजार ५ सय २३ पुगेको छ । यस मुलुकमा संक्रमितको संख्या १ लाख ३२ हजार ५ सय ४७ रहेको छ ।

सोमबार ३ हजार ५ सय ९९ नयाँ संक्रमित देखिए । स्पेनमा मृतकको संख्या १३ हजार तीन सय ४१ पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख ३६ हजार छ सय ७५ पुगेको छ ।

अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार ९ सय ८ पुगेको छ । अमेरिकाको न्युयोर्कमा मात्र ४ हजार ७ सय ५८ जनाको मृत्यु भएको छ ।

अमेरिकामा संक्रमितको संख्या ३ लाख ६७ हजार ५ सय ७ रहेको छ । फ्रान्समा सोमबार ८ सय ३३ जनाको मृत्यु भएको छ ।

फ्रान्समा एकै दिन धेरै जनाको मृत्यु भएको पहिलो पटक हो । अब फ्रान्समा मृत्यु हुनेको संख्या ८ हजार ९ सय ११ पुगेको छ ।

बेलायतमा मृत्यु हुनेको संख्या ५ हजार ३ सय ७३ र संक्रमितको संख्या ५२ हजार दुई सय ७९ पुगेको छ ।

 

जर्मनीमा संक्रमित संख्या १ लाख ३ हजार ३ सय ७४ र मृतक संख्या १ हजार ८ सय १० पुगेको छ । इरानमा ३ हजार ७ सय ३९ को ज्यान गएको छ ।