स्वास्थ्य

कांग्रेसका १० नेताको सुझाव, सांसद विकास कोषको रकम कोरोना रोकथाममा लगाउ

काठमाडौं । नेपाली कांग्रेसका १० नेताले सांसद विकास कोष र पूर्वपदाधिकारीको सुविधा कटौती गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लगाउन सुझाव दिएका छन् ।

उनीहरुले बिहीबार एक विज्ञप्ति जारी गरी यस्तो सुझाव दिएका हुन् । अहिले सरकारले खर्च कटौती गरी रकमको जोहो गर्न खोजिरहेको छ ।

संकटको समयमा खर्च कटौतीका लागि सांसद विकास कोषको रकम उपयुक्त हुने उनीहरुको सुझाव रहेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणमा पूर्व पदाधिकारीले पाउने सुविधा र सुरक्षा कटौती गरेर जनताको हितमा लगाउन समेत उनीहरुले माग गरेका छन् ।

संघीय सरकारले प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत प्रतिसांसद ६ करोड रुपैयाँ विनियोजन गर्ने गरेको छ ।

कांग्रेस नेताहरुले सुरक्षाकर्मीको तलब समेत नकाट्न सुझाव दिएका छन् ।

नेताहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले विज्ञप्ति जारी गरेका हुन् ।

सरकारले कोरोनाको संक्रमण पत्ता लगाउन परिक्षणको दायरा बढाउनु पर्ने उनीहरुको सुझाव रहेको छ ।

उनीहरुले कोरोना भाइरसबाट संक्रमित ब्यक्तिको पहिचानका लागि आबश्यक पर्ने परीक्षणका लागि चाहिने परीक्षण किट, पिपिइ लगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको बन्दोबस्त गर्न पनि सरकारसँग माग गरेका छन् ।

नेताहरुले बिदेशबाट नेपाल आउन चाहने नेपालीलाई सहजै आउन दिने ब्यवस्थाको माग गरेका छन् ।