स्वास्थ्य

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक

काठमाडौं । कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या अब १ लाख हाराहारी पुगेको छ । बिहीबार सम्मको तथ्यांका अनुसार संसारभर कोरोना भाइरसले ९५ हजार ५ सय ६ जनाको ज्यान लिइसकेको छ ।

यो भाइरसले सबैभन्दा बढी इटलीमा मानवीय क्षति भएको छ । यहाँ अहिलेसम्म १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको तथ्यांक रहेको छ ।

धेरै मानिस मर्ने मुलुकको सूचिको दोस्रो स्थानमा अमेरिका रहेको छ । १६ हजार ५ सय १३ जनाको ज्यान गएको छ ।

स्पेनमा १५ हजार ४ सय ४७ जनाको ज्यान गएको तथ्यांक छ । फ्रान्समा १२ हजार दुई सय २८ जनाले ज्यान गुमाउनु परेको छ ।

चीनबाट शुरु भएको यो भाइरसले यूरोप र अमेरिकामा ठूलो मानवीय क्षति भएको हो । तुलनात्मक रुपमा गरिब मुलुकभन्दा धनी मुलुक यस भाइरसको चपेटामा आएका छन् ।

संसारभर कोरोना भाइरसबाट १५ लाख ९६ हजार मानिस संक्रमित भएका छन् ।

अमेरिकामा सबैभन्दा बढी ४ लाख ५२ हजार संक्रमित भइसकेका छन् । स्पेनमा १ लाख ५३ हजार मानिसमा सक्रमण भएको छ ।

इटालीमा १ लाख ४३ हजार मानिसलाई यसको संक्रमण पुष्टी भएको छ । विश्वभर ३ लाख ५४ हजार संक्रमित भने निको भएका छन् ।

निको हुनेहरु धेरैजसो चीनमा छन् । चीनमा ७७ हजारभन्दा बढी संक्रमित निको भएका छन् । स्पेनमा पनि ५२ हजारभन्दा धेरै संक्रमित निको भएका छन् ।

जर्मनीमा निको हुने संक्रमितको संख्या ५२ हजार नाघेको छ । नेपालमा संक्रमितको ९ रहेको छ । त्यसमध्ये एक जना निको भइसकेका छन् ।