स्वास्थ्य

कोरोनाबाट बढी ज्यान जाने मुलुकमा अमेरिका दोस्रो

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको ज्यान गएको मुलुकमा अमेरिका दोस्रो स्थानमा आइसकेको छ ।

कोरोना भाइरसबाट अमेरिकामा एकैदिन २ हजार ३७ जनाको मृत्यु भयो । यो सँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ७ सय १९ पुगेको छ। अमेरिकाभन्दा माथि इटली छ ।

इटलीमा १८ हजार ८ सय मानिसको ज्यान गएको छ । अर्थातः अब कोरोनाबाट विश्वमा सबैभन्दा ठूलो मानवीय क्षति अमरिकाले भोगिरहेको छ ।

किनकी पछिल्ला दिनहरुमा यूरोपमा यसको संक्रमणको दर र मृत्युदर पनि निरन्तर घटिरहेको छ । तर, अमेरिकाले चालेका सबै कदम असफल भइरहेका छन् ।

अमेरिकामा मात्र संक्रमितको संख्या ५ लाख २ हजार ८ सय ७६ रहेको छ । शुक्रबारसम्म न्युयोर्कमा सबैभन्दा धेरै संक्रमितको ज्यान गएको छ।

त्यहाँ हालसम्म ७ हजार ८ सय ४४ जनाको मृत्यु भएको छ । यहा १ लाख ७२ हजार मानिसमा संक्रमण भएको छ ।

न्युजर्सीमा १ हजार ९ सय ३२ जनाको मृत्यु भएको छ । विश्वभर कोरोना महामारीका कारण शनिबार बिहानसम्म १ लाख २ हजार ७ सय ३४ जनाको ज्यान गएको छ ।

फ्रान्स र बेलायतमा पछिल्लो २४ घण्टामा झण्डै १, १ हजार जनाको मृत्यु भएको छ। फ्रान्समा अहिलेसम्म १३ हजार संक्रमितको जनाको ज्यान गएको छ ।

बेलायतमा मृत्यु हुनेको संख्या ९ हजार पुगेको छ । स्पेन र इटलीमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

स्पेनमा ६३४ र इटलीमा ५७० जनाको मृत्यु भएको छ । हालसम्म स्पेनमा मृत्यु हुनेको संख्या १६ हजार पुगेको छ।

इटलीमा मृत्यु हुनेको संख्या १८ हजार ८ सय रहेको छ । विश्वभर संक्रमितको संख्या १७ लाख नजिक पुगेको छ । नेपालमा ९ जना संक्रमित छन् । एक जना निको भइसकेका छन् ।