स्वास्थ्य

एक सातायता नेपालमा देखिएन थप संक्रमण

काठमाडौं । नेपालमा एक सातायता कोरोना भाइरसको थप संक्रमण नदेखिएको सरकारले जनाएको छ ।

नेपालमा अहिलेसम्म ४ हजार ४ सय २६ जनामा कोरोनाको परिक्षण भएको छ । पछिल्लो २४ घण्टामा ८ सय ९७ जनामा नमुना परिक्षण भएको छ ।

त्यस परिक्षणबाट कुनै पनि थप संक्रमण पुष्टी नभएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र ६ सय ९ जनाको परिक्षण भएको थियो ।

उपत्यका बाहिरका १० वटा प्रयोगशालामा कुल २८८ वटा नमुना परिक्षण भएका थिए । ती कुनै पनि परिक्षणमा कोरोनाको पुष्टी भएन ।

यससँगै नेपालमा अघिल्लो शनिबार यता कोरोनाको संक्रमण डरलाग्दो गरी नफैलिएको पुष्टी भएको छ । सरकारले नेपालमा कोरोना रोकथामका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ ।

देशभित्र आवतजावत गर्न नपाउने गरी लकडाउन घोषणा गरिएको छ । नेपालमा अहिलेसम्म ९ जनामा कोरोना देखिएको छ ।

एक जना निको भएर घर फर्किसकेका छन् । अन्य संक्रमितको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नेपालमा अहिले देशभर क्वारेन्टानइमा ८ हजार ८२ जना मानिस रहेका छन् । आइसोलेसनमा ८२ जना रहेको मन्त्रालयको तथ्यांक छ ।

सबै जिल्लामा परिक्षणको दायरा बढाइएको र अहिले दैनिक औसतः ८ सय नमुना परिक्षण भइरहेको मन्त्रालयको भनाई छ ।