फिचर

अमेरिकाबाट देश निकाला आदेश पाएका नागरिक नलैजाने मुलुकलाई भिषा रोक्ने ट्रम्पको चेतावनी

फाईल फोटो

न्यूयोर्क/

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अदालतबाट देश निकालाको अनुमती पाएका नागरिक नलैजाने मुलुकलाई भिषा रोक्ने चेतावनी दिएका छन् । कोरोना भाइरस संक्रमणका कारण अमेरिकाबाट देश निकाला भएपनि स्वदेश फर्कन नसकेका नागरिकलाई जसरी पनि लैजान सम्बन्धित देशलाई ट्रम्पले उक्त चेतावनी दिएका हुन् ।

अमेरिका प्रवेश गरेपछि बसोबास अनुमतीका लागि कागजी प्रकृया स्वीकृत नभएका व्यक्तिलाई अदातले आफ्नै देश फर्किन आदेश दिन्छ । तर, अहिले यस्तो आदेश पाइ सकेका व्यक्तिहरु भाइरस संक्रमणका कारण आफ्नो मुलुकले अन्तर्राष्ट्रिय उडान रोकेको कारण फर्किन सकेका छैनन् । ट्रम्पले शुक्रबार उक्त आदेशमा हस्ताक्षर गरि जसरी पनि आफ्ना नागरिक फिर्ता लैजान चेतावनी दिएका हुन् ।

आदेश अनुसार अब अमेरिकाको डिपार्टमेन्ट अफ होम ल्याण्ड सेक्युरिटी (गृह मन्त्रालय)ले स्टेट डिपार्टमेन्टलाई देश निकालाको अनुमति पाइ सकेका व्यक्तिको जानकारी पठाउनेछ । र, स्टेड डिपार्टमेन्टले सात दिनको सीमा भित्र नागरिकलाई अमेरिका बाहिर निकाल्न सम्बन्धित देशलाई जानकारी दिनेछ । यदि उक्त समय सीमा कुनै मुलुकले आफ्ना नागरिक अमेरिकाबाट ननिकाले उक्त मुलुकका नागरिकलाई नयाँ भिषा जारीमा रोक लगाउने जनाइएको छ । सम्बन्धित देशले अमेरिका छोड्ने अनुमति पाएका आफ्ना नागरिक बाहिर निकालेपछि मात्र फेरि भिषा वितरण सुरु गर्ने ट्रम्पको आदेशमा रहेको छ ।

यो आदेशपछि कतिपय नेपाली सञ्चार माध्यममा भने ट्रम्पले सबै विदेशीलाई सात दिन भित्र अमेरिका छोड्न अनुमति दिएको भन्ने अफवाह प्रकाशित भएको छ । त्यो शतप्रतिशत असत्य हो । अमेरिका घुम्न आएर भिषा अवधि बाँकी रहेका वा अरु कुनै तवरले कानूनी बसोबास पाएकाको हकमा यो आदेश आएको होइन । यहाँ आएर ग्रीनकार्डका लागि आवेदन दिएका तर सरकारी निकाय एवं अदालतबाट समेत अस्वीकृत भइ सकेपछि अदालतले नै देश निकालाको आदेश दिएकाहरुको हकमा मात्र ट्रम्पले यो कार्यकारी निर्णय गरेका हुन् ।

कुन देशलाई लक्षित गरि यस्तो प्रावधन ल्याइएको बारे अमेरिकी सरकारका अधिकारीले केही बताएका छैनन् । सुरु देखिनै आप्रवासी प्रति अत्यन्त अनुदार रहेका ट्रम्पले कोरोना महामारीमा पनि मानवियता भन्दा धेरै आफ्नै राजनीतिक एजेन्डालाई जोड दिएको भने यो आदेशबाट देखिएको छ ।