बिचार

‘अस्पतालबाट चाँडै घर फर्कनुस् है आमा’

कल्पना घिमिरे
‘आज तीन दिन भैसक्यो आमासंग गफगर्न नपाएको, कति फोन गरेँ घण्टी गइरहन्छ आमाको फोन उठ्दै उठ्दैन’ अस्पताल पुगेको २ दिन सम्म त आमाले फोन उठाउनुहुन्थ्यो । अब त फोन उठ्न पनि छोड्यो’ उषा दिदीको छटपटि झन् झन् बढ्दै थियो ‘मैले अस्पताल पुर्याएर ठूलो गल्ती गरें, बरु घरमै राखेर स्याहार गरेको भए आमालाई छिटो निको हुन्थ्यो होला, आमालाई अस्पताल लगेदेखि नै मेरो भोक निन्द्रा हराएको छ । मन अतालिएको छ मैले यस्तो के पाप गरेँ ? र आज आमाले प्रदर्शनी यो भोग्नुपर्यो भन्ने सोच्छु । फोनमा गनथन गरेको धेरैबेर भैसक्यो उषा दिदीको रुवाबासी टुङ्गिएन । आमाको उपचार भइरहेकोले ठिक भइहाल्ने सान्त्वना दिदैँ मैले अनेक तवरबाट मन दरो बनाउन र चिन्ता नगर्न सम्झाएँ । तर, दिदीको मन कसरी सम्झिएला ?
तीन महिना अघि सम्म म संगै अपार्टमेन्ट शेयरमा (एउटै घरमा) बस्ने उषा दिदीको ८१ वर्षीया आमा नेत्रकुमारी गौचन यतिबेला ज्याक्सन हाइटस्थित एल्मष्ट अस्पतालमा  हुनुहुन्छ । अमेरिकामा रहेका छोरी ज्वाँई भेट्न र घुम्न तीन महिना अघि मात्रै आमा अमेरिका आउनुभएको थियो । उमेर निकै पाको भएपनि आमाको स्वास्थ्य अवस्था सामान्य नै थियो । बिहान बेलुका खाना बनाउने, घरको काम गर्ने, सामान्य हिनडुल गर्ने सबै आमाले गर्नुहुन्थ्यो ।
दुई महिनादेखि कोठाबाट बाहिर निस्कदै ननिस्केको आमालाई एक्कासी सामान्य ज्वरो देखियो र श्वास फेर्न अफ्ठेरो भएकाले केही दिन अघि अस्पताल पुर्याइएको थियो । परिवारका सदस्यले आमालाई एम्बुलेन्समा राखेर अस्पताल पठाएदेखि नै देख्न पाएका छैनन् । ‘कस्तो अवस्थामा कहाँ हुनुहुन्छ केही पत्तो भएन के खानु भयो होला ? न त भाषा बुझ्नु हुन्छ न त खानेकुरा नै आफुले खानेजस्तो मिल्छ ?’ अहिले परिवारको सदस्यको चिन्ता नै यही छ ‘खानेकुरा बेस्सरी खुवाउन सके पो आमाले रोगसंग लड्न सक्नुहुन्थ्यो, रोगले भन्दा पनि खानै नपाएर पो धेरै कमजोर हुनुभयो ।’
अस्पताल पुगेका कोरोना संक्रमित बिरामीलाई कसैले पनि भेट्न पाउँदैन । अस्पतालले नै बिरामीको लागि खानेकुरा लगायत सबै ब्यवस्था मिलाएको हुन्छ । चिसो पानी, पाउरोटी र के केको मासु दिएकोले आफुले खान नसकेको गुनासो आमाले सुरुमा फोन सम्पर्क हुँदा गर्नुभएको थियो रे । भाषा नबुझेर बाथरुम जान समस्या परेको, तातो पानी पिउन नपाएको र आफु खानै नपाएर कमजोर हुँदै गएको आमाले सुनाएकोमा परिवार बढी चिन्तित छ । आमालाई आइसोलेसन डिपार्टमेन्टमा छुट्टै कोठामा राखेको रहेछ । आफ्नै छेउको बेडमा कतिबेला शब (डेड बडी) ल्याएर राखिदिएछन् । थाहापाएपछि आमा बेडबाट उठेर रिसेप्सनसम्म गएर नेपालीमै कराउन थाल्नु भएछ । ‘मेरो छेउमा मान्छेको लाश किन राखेको ? बाहिर निकाल’ भनेर चिच्याउन थालेपछि अस्पताल प्रशासनले शब हटाइदिएको पनि आमाले उषा दिदीलाई सुनाउनु भएको रहेछ । आफ्नो आमाको आँट देखेर गर्व गर्दै दिदी सुनाउँदैहुनुहुन्थ्यो ‘तर, आफुले बोलेको डाक्टर, नर्सले नबुझ्ने, उनीहरुले बोलेको आफुले नबुझ्ने भएकाले उपचार गरिरहेका बुढाबुढीले निकै सकस भोग्नुपर्ने रहेछ ।’
‘बरु आमालाई अस्पतालले डिस्चार्ज गरिदिए म घरैमा राम्ररी हेरचाह गर्थे, खुवाइरहन्थे र निको पार्थे भन्ने लाग्छ’ दिदीको कामना छ ‘आमालाई चाँडो निको होस् छिट्टै घर ल्याउन पाऊँ । अमेरिका घुम्ने मेरो आमाको इच्छा पुरा गराउनुछ । अस्पतालमा कामगर्ने नेपाली भाइबहिनी जसले मेरो आमालाई भेटेर मलाई सम्पर्क गराइदिनु भयो सबैप्रति आभारी छु ।’