फिचर

कोरोना महामारीबीच ट्रम्पद्वारा विश्व स्वास्थ्य संगठनको सहायता रोक्का

फाईल फोटो

न्यूयोर्क/

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले उपलब्ध गराउने आर्थिक सहायता रोक्का गरेका छन् । विश्वभर कोरोना महामारी फैलि रहेका बेला ट्रम्पले जनस्वास्थ्य क्षेत्रमा काम गर्ने राष्ट्र संघीय निकायको बजेट रोक्का गरि दिएका हुन् ।

कोरोना संक्रमण सुरु हुँदा संगठनले देखाएको गतिविधीबारे छानविन गरुन्जेल बजेट रोकेको ट्रम्पले जनाएका छन् । छानविनबाट संगठनले ‘भाइरस सुरु हुँदा देखाएको कमजोर व्यवस्थापन र छलछाम’ बाहिर ल्याउने ट्रम्पको दावी छ । अमेरिकाले संगठनलाई बार्षिक ४० देखि ५० करोड अमेरिकी डलर सहायता प्रदान गर्दै आएको छ । चीनले अहिलेसम्म ४० करोड मात्र दिँदै आएको उनको दावी छ ।

सुरुमा चीन र संगठनले कोरोना रोकथामका लागी पर्याप्त काम गरेको बताउँदै आएका ट्रम्पको अमेरिकामा भाइरस विस्तारपछि बोली फेरिएको हो । उनी अहिले चीनले संक्रमण सुरु हुँदा सूचना लुकाएको र विश्व स्वास्थ्य संगठनले त्यसलाई सघाएको दावी गर्दै आएका छन् । न्यूयोर्क टाइम्सले गत शनिबार भाइरस नियन्त्रणमा ट्रम्पको श्रृङ्खलाबद्ध हेलचेक्राँइ बारे लामो रिपोर्ट प्रकाशित गरेपछि उनी झनै क्रुद्ध भएका छन् ।

संगठनले चीनमा भाइरस विस्तार हुँदै गर्दा सचेत गराएको भए यति ठूलो संख्या विस्तार हुन नसक्ने ट्रम्पको पछिल्लो दावी रहेको छ । संगठनले जनवरीमै कोरोना भाइरसले महामारीको रुप लिनसक्ने भन्दै सचेत गराएको थियो । तर, ट्रम्पले चीनबाट अमेरिकामा यात्रा प्रतिबन्ध लगाउने बाहेक मार्च दोस्रो सातासम्म कुनै ठोस कदम चालेनन् । त्यतिबेलामा अमेरिकामा भाइरस जाँचमा पनि कुनै तीब्रता दिइएन । त्यसकै परिणाम स्वरुप देशभर भाइरसले विस्तारको मौका पायो । अमेरिकी सुरक्षा निकायहरुले जनवरी सुरुमै भाइरस संक्रमणको सम्भावनाबारे ह्वाइट हाउस लगायत अमेरिकी उच्च अधकारीलाई सतर्क गराए पनि ट्रम्प प्रशासनले सम्बेदनशीलता देखाएको थिएन । मंगलबार साँझसम्ममा अमेरिकामा संक्रितमको संख्या छ लाख पुगेको छ भने २५ हजार ७०० ले ज्यान गुमाइ सकेका छन् । संक्रमित र मृतक संख्या दुबैमा अमेरिका सबै मुलुकभन्दा अगाडि छ ।