समाचार

लड्दा लड्दै कोरोनाले लडायो पवनलाई

न्यूयोर्क, अप्रिल १५

“योगेश दाई महिना दिनसम्म पकाउने, ख्वाउने, भाँडा माझ्ने मात्र होइन कि खकार सिंगान सोहोरेर स्याहार्दा पनि पवन दाई आज मेरै आँखा अगाडिबाट लास बनेर बिदा भयो” सँगै बस्ने साथीको चीर बिदाईपछि सरगम पनि आफ्नै खर्चमा अनिश्चित समयको लागि होटलमा बस्न पुगेका छन् । सरगम भट्टराई भाई आफैपनि पत्रकार/लेखक भएकोले यो घटनाको नालिबेली कुनै दिन बृस्तितमा पक्कै आउला तर मलाई उहाँसँगको १५ मिनेटको बातचितले भावुक बनायो । २ महिनाअघि रुम पार्टनरको रुपमा सरगमसँग बस्न आएका थिए – उनी ।

आज न्यूयोर्क सहरको नेपाली समुदायले कोरोना भाइरसको कारण प्रकाश उपनामले चिनिने पवनकुमार मल्ललाई गुमाएको छ । उनको मृत्यु आज अपरान्ह उनकै निवास उडसाइडस्थित कोठामा भएको थियो । ५४ वर्षका पवनकुमार ८ वर्षअघि एक्लै अमेरिका आएका थिए भने न्यूयोर्कमा ग्रिन क्याब चलाउने गर्दथे । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा उनी नियमित काममै हुन्थे । संक्रमित भएपछि भने रुम पार्टनरको सहयोगमा घरमै उपचार गर्दै आएका थिए । नेपालमा छँदा नेपाल प्रहरी सेवामा रहेका उनका श्रीमती र दुई छोरी नेपालमै छन् ।

अमेरिकाको न्यूयोर्क शहरमा रहेर पनि कोठामै मर्नु परेको कारण र तथ्य नबुझी समाचारलाई उद्देलित बनाएर लेख्नमा हतार गरेकोमा सँगै बसेर सबै व्यहोरेका सरगम भट्टराई दुखेसो व्यक्त गर्छन् । सरगम भन्छन्; “हामी दुईजना मात्र घरमा हुँदा मेरो मान्छे भनेर तातो पानी तताई दिन समेत कहिल्यै कोही आएनन् । मैले पटक पटक एम्बुलेन्स बोलाएँ । तर उनी गएनन् । हिजो उनले सास फेरेको असामान्य लागेपछि मैले पुन: ९११ मा फोन गरेर एम्बुलेन्स बोलाएँ । आयो तर जब नर्सहरु हेर्न आए पवनदाई सामान्य जस्तै बोल्न थाल्नुभयो । म चकित परें । नर्सले घरमै खानेगरेको औषधिलाई निरन्तरता दिदै बस्नु । अस्पताल लैजानु पर्ने जस्तो छैन भनेर गयो । आज यस्तो भयो” ।
पवनको मृत्युले परिवारबाट टाढिएर प्रवासमा एक्लै संघर्ष गर्नेको कथाको अर्को पाटो उजागर गरेको छ ।