स्वास्थ्य

सीमा पारी क्वारेन्टाइनमै आमाको किरिया बसेका भट्टलाई घर ल्याइने

दार्चुला । भारतबाट नेपाल आउँदा आउँदै नेपालको सीमाना बन्द भयो । सीमा बन्द गर्नु सरकारको पनि बाध्यता थियो । तर, सीमानामा रोकिएका नेपालीको उचित व्यवस्थापनमा भने सरकार चुकेको छ ।

यसको चरम रुप भारतको धार्चुलामा देखिएको छ । घरमा आमाको निधन भएपछि घर आउँदै गरेका छोरा पनि सीमा पारी नै रोकिए ।

उनलाई सरकारले घर आउन दिएन । सोहीकारण उनी रोकिएकै स्थानमा आमाको किरिया बसे । यो खबर सार्वजनिक भएपछि सरकारले उनलाई घरसम्म लैजाने भएको छ ।

यसका लागि प्रक्रिया थाल्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–१, भलाँचका वासुदेव भट्ट आमाको मृत्युपछि भारतको धार्चुलास्थित आश्रय स्थलमा मै किरियामा बसेका छन् ।

नेपाल सरकारले उनलाई घर फर्काउने निर्देशन दिएपनि भारत सरकारको अनुमति चाहिने भएकाले उनलाई बिहीबार घर ल्याउन भने सकिएन ।

दार्चुलाबाट शैल्यशिखर नगरपालिकाको टोली गाडीसहित गएको छ । लकडाउन घोषणापछि दार्चुलापारि धार्चुलामा साढे पाँच सयभन्दा बढी नेपाली रोकिएका छन् ।