विज्ञान प्रविधि

अब नेपालमै बन्नेछ विद्यूतीय कार

काठमाडौं । अब नेपालमै विद्यूतीय कार उत्पादन हुने भएको छ । हुलास मोर्टसले नेपालमा विद्युतीय कार उत्पादनको तयारी गरिरहेको छ ।

कम्पनीको बिराटनगरस्थित मिल्स एरियामा रहेको प्लान्टमा कार निमार्णसम्बन्धी तयारी अन्तिम चरणमा पुगेको कम्पनीले जानकारी दिएको छ । ६ महिनाभित्रै उत्पादनको काम शुरु हुने भएको छ ।

कार उत्पादन गरेपछि केही समय देशका विभिन्न शहरमा परीक्षण गर्ने र त्यसपछि मात्र बिक्रिका लागि सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ ।

यस्ता कारको मूल्य अधिकतम १८ लाख रुपैयाँसम्म पर्ने बताइएको छ । जलविद्युत उत्पादन निरन्तर राम्रो हुँदै गइरहेको अवस्थामा अब नेपालमा अन्य इन्धनको तुलनामा विद्युतीय कार लोकप्रिय हुने अपेक्षा छ ।

हुलासले उत्पादन गर्ने कार एक पटक फुल चार्ज गरेपछि १६० देखि १७० किलोमिटरसम्म गुड्न सक्ने क्षमताका हुने बताइएको छ । यसका लागि आवश्यक स्पेयर पार्ट चीनबाट ल्याउने तयारी छ ।