फिचर

विदेशमा संकटमा रहेका नेपालीको उद्दार गर : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा संकटमा रहेका नेपालीलाई उद्दार गरी घर फिर्तिको वातावरण बनाउन सरकारलाई आदेश दिएको छ ।

खासगरी सीमावर्ती क्षेत्रमा हजारौं नेपाली नागरिक घर आउने सरकारको आदेश कुरेर बसेका छन् ।

प्रवासी नेपालीलाई क्वारेन्टाइनमा राख्ने शर्तसहित घर फर्किन दिने व्यवस्था मिलाउन सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता सोमप्रसाद लुइँटेलले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले विदेशमा रहेका नेपालीलाई विना भेदभाव उद्दार गर्न अन्तरिम आदेश गरेको हो ।

सर्वोच्चले केही देशले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फिर्ता लैजान दबाब दिइरहेको र कतिपय नेपालीले सरकारसँग गुहार समेत मागिरहेको विषयलाई राज्यले टुलुटुलु हेरेर बस्न नमिल्ने भन्दै सचेत गराएको छ ।

अदालतले कोरोनाको महामारी फैलिएका मुलुकमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको त्यहाँको नेपाली राजदूताबास वा श्रम सहचारीमार्फत संक्रमित नेपालीको स्वास्थ्य स्थिति प्रतिवेदन तत्काल तयार गर्न समेत निर्देशन दिएको छ ।