फिचर

उद्योगका श्रमिकले लकडाउन अवधिभरको तलव पाउने

सांकेतीक तस्वीर

काठमाडौं । नेपालका औद्योगिक प्रतिष्ठानमा कार्यरत श्रमिकले लकडाउन अवधिको पारिश्रमिक पाउने भएका छन् ।

निजी क्षेत्र, श्रमिकहरुको छाता संगठन र सरकारबीच यस सम्बन्धमा त्रिपक्षीय सहमति जुटेको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा आईतबार भएको छलफलमा यो सहमति जुटेको हो ।

मन्त्रालयका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका प्रतिनिधि लकडाउन अवधिको तलव श्रमिकलाई दिन सहमत भएका हुन् ।

नेपालमा ११ चैतमा घोषणा भएको लकडाउनपछि उद्योग प्रतिष्ठान बन्द छन् । जसले गर्दा उद्योगहरुले कमाउने वातावरण पाएका छैनन् ।

सोहीकारण चैत महिनाको श्रमिको तलव दिइएको छैन ।

आइतबार भएको बैठकले कोभिड १९ का कारण विदेशबाट रोजगारी गुमाएर फर्केका युवालाई उत्पादनशील र उद्यमशिलतामा सहभागी गराउनेबारे अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको छ ।

मन्त्रालयको औद्योगिक लगानी तथा प्रर्वद्धन महाशाखा प्रमुख सहसचिव पुष्पराज शाहीको संयोजकत्वमा कृषि तथा पशुपंक्षी, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि र उद्योगका छाता संगठनका प्रतिनिधि सहितको कार्यदल गठन गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

कार्यदललाई १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

वैठकले लकडाउनका कारण बन्द भएका उद्योगहरु सञ्चालनका लागि सम्पूर्ण उद्योगहरुलाई ३ चरणमा वर्गीकरण गरी उद्योग सञ्चालन गर्न उच्च स्तरीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको मन्त्रालयले उल्लेख गरेको छ ।