समाचार

नेदरल्यान्डमा कोरोनाको कारण लक्ष्मीको निधन

अप्रिल १९ 

नेपालमा म्याग्दी जिल्लाकी स्थायी बसिन्दा ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरसबाट संक्रमित भई नेदरल्यान्डमा निधन भएको छ । मृत्यु बारे नेदरल्याण्डका लागि पर्यटनदूतसमेत रहेका शशि पौडेलले संचार माध्यमलाई जानकारी दिएको हो । उनले भट्टचनको अकस्मात निधनले समस्त नेपाली समाज नेदरफ्याण्डलाई स्तब्ध बनाएको बताएका छन् ।  हालसम्म २९ प्रबासी नेपालीले कोरोनाको कारण ज्यान गुमाइसकेको अवस्थामा नेदरल्याण्डमा कोरोनाबाट ज्यान गुमाउनेमा लक्ष्मी पहिलो नेपाली हुन् ।

थकाली समाज बेल्जियमका सचिव रोशन शेरचनले संसारभर बसोवास गर्ने थकाली समुदायका सदस्यहरू मध्येमा यो नै पहिलो दुःखद घटना भएको उल्लेख गरेका छन् । उनले भट्टचनको निधनको खबरले स्तब्ध बनाएको भन्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारणा गर्ने शक्ति प्राप्त होस, भन्ने कामना गरेका छन् ।

आजैमात्र गैरआवासीय नेपाली संघले विश्वमा कोरोनबाट ज्यान गुमाउने नेपालीको संख्या २९ भएको जनाएको थियो । लक्ष्मीको निधनसँगै विश्वमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या ३० पुगेको छ।

तस्बिर : संसार न्युज