स्वास्थ्य

सीमा पारी आमाको किरिया बसेका भट्टलाई नेपाल ल्याइयो

काठमाडौं । नेपालमा लकडाउन भएपछि सीमा पारी रोकिएका नेपालीमध्ये एक बासुदेव भट्टलाई दोहोरो पिडा आइपर्यो ।

घरमा आमाको निधन भएपछि किरिया गर्न घरमा आउन हिँडेका उनी सीमा नाकामै रोकिएपछि क्वारेन्टाइन स्थलमै किरिया बसेका थिए ।

संचारमाध्यमबाट यो खबर सार्वजनिक भएसँगै गृह मन्त्रालयले उनलाई घर फर्काउन निर्देशन दिएको थियो ।

सोहीकारण उनलाई स्थानीय प्रशासनको पहलमा नेपाल फर्काइएको छ । भारतीय क्वारेन्टाइनमै आमाको किरिया बस्न बाध्य दार्चुला शैल्यशिखर नगरपालिका–१, भलाँचका वासुदेव भट्टलाई आज नेपाल ल्याइएको हो ।

यस काममा जिल्ला प्रशासन कार्यालय, दार्चुलाले विशेष पहल गरेको थियो । भट्टलाई धार्चुलास्थित भारतीय क्वारेन्टाइन स्थलबाट आइतबार दिउँसो १ः३० बजे नेपाल ल्याइएको थियो ।

भट्टलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल दार्चुला लगिएको थियो ।

स्वास्थ्य परीक्षणको नतिजा आएसँगै उनलाई घर पठाउने कि अस्पतालमा भन्ने निश्चित हुने भएको छ । जिल्ला अस्पतालमा भट्टको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको हो । रिपोर्ट नेगेटिभ आएमा भने उनलाई घर पठाइने भएको छ ।