समाचार

अमेरिकामा रहेका नेपाली विद्यार्थीको समस्या : अर्को महिनादेखि घरभाडा तिर्नै गाह्रो

कल्पना घिमिरे
न्यूयोर्क/अमेरिका
कोरोना भाइसरको संक्रमणले यतिबेला अमेरिका ठप्प छ । दिन दुगुना रात चौगुना फैलदो संक्रमणले सम्पूर्ण अमेरिकाबासीको दैनिकी अस्तब्यस्त बनेको छ । महिना दिन भन्दा बढी घर भित्रै थुनिएर बस्नुपर्दा यहा रहेको नेपाली समुदायमा निकै छटपटि र अत्यास बढिरहेको छ । अझ अध्ययनका लागि अमेरिका आएका नेपाली विद्यार्थीहरुले भने बढी मार खेपिरहेका छन् ।
काम गर्न नपाएकाले उनीहरुलाई आगामी महिनादेखि आर्थिक भार बढ्ने आँकलन गरिएको छ । हालसम्म कलेजको शुल्क बुझाइएकाले अहिलेलाई समस्या नपरेपनि अर्को महिनादेखि कलेजमा बुझाउने मासिक शुल्क र घरभाडाका लागि समस्या पर्ने विद्याथीहरुले बताएका छन् ।
नेपालबाट एफ वान भिषामा पढ्नका लागि अमेरिका आएका करिब ४५ हजार विद्यार्थी समस्यामा पर्ने अनुमान गरिएको छ । अमेरिकाका बिभिन्न राज्यमा भएका ४ हजार भन्दा बढी युनिर्भसिटिमा नेपाली बिद्यार्थीहरु अध्ययनरत छन् ।
नेपाल बिद्यार्थी संघ अमेरिकाका सभापति प्रभात सापकोटा कोरोना भाइरस संक्रमणको प्रत्यक्ष र अप्रत्यक्ष मारमा नेपाली बिद्यार्थीहरु रहेको बताउ“छन् । ‘एउटा विद्यार्थीले सातामा १५/२० घण्टा काम गरेर कलेजमा तिर्ने शुल्क जसोतसो ब्यवस्थापन गर्थ्यो पढिरहेको विद्यार्थीले काम गर्न नपाएको अवस्थामा आर्थिक समस्या बेहोर्नुपर्छ ।’
उनका अनुसार एफवान भिषामा अध्ययन गरिरहेका अधिकांश विद्यार्थीहरुको सोसल सेक्युरिटि नभएकाले अमेरिकी सरकारले उपलब्ध गराएको राहत रकम पनि उनीहरुले पाउदैनन् ।
एउटा विद्यार्थीका लागि मासिक घरभाडा ६/७ सय, कलेजको शुल्क १ हजार देखि १२ सय, खाना गरेर मासिक २ हजार अमेरिकी डलर खर्च हुने गर्छ । नेपालबाट मासिक २ हजार अमेरिकी डलर सम्म खर्च पठाउन सक्ने परिवार संख्या अत्यन्तै थोरै छ । अध्ययनका लागि अमेरिका आएका अधिकांश नेपाली विद्यार्थीहरु आफै कमाएर पढेका हुन्छन् । तोकिएको समय (घण्टा) मात्रै काम गर्नुपर्दा उनीहरुसंग बचत नहुने भएकाले पनि बढी समस्यामा पर्नेछन् ।
लुजियाना टेक युनिभर्सिटिमा अध्ययनरत अंकित अर्याल भन्छन्, ‘काम गरेर ‘पे चेक टु पे चेक’ दैनिकी गुजारिरहेका हुन्छौ । अझै लामो समयसम्म काममा जान पाइएन भने अर्को महिनादेखि घरभाडा तिर्नै मुस्किल पर्छ ।’ उनका अनुसार नेपालबाट खर्च पठाउने अवस्था नै छैन । लकडाउनले गर्दा अब नेपालमै रहेको परिवारले आर्थिक समस्या झेल्नुपर्ने हुनसक्छ ।
न्यूयोर्कमा रहेर नेपाली विद्यार्थीहरुलाई सहयोग गर्दै आएका छिरिङ लामाले यतिबेला संक्रमणबाट न्यूयोर्क धेरै प्रभावित भएकाले यहाँका विद्यार्थीलाई ग्रोसरी (खाद्यान्न) किन्न जानै समस्या परेको बताए । आफुले भ्वाइस फर युथ मार्फत समस्यामा परेका बिद्यार्थीहरुलाई सहयोग गर्दै आएको बताए । ’ग्रोसरी गर्न नपाएका हरुलाई घरमै ‘फुड डेलीवरी’ गर्ने व्यवस्था गर्दैछौं । कोभिड १९ संग एक्पोज भइसकेका विद्यार्थीहरुलाई कसरी सहयोग गर्ने चुनौती छ ।’
इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसनको तथ्याक अनुसार करिब ४५ हजार बिद्यार्थीहरुमध्ये धेरैको सोसल सेक्युरिटि नम्बर छैन । ‘सोसल सेक्युरिटि नम्बर नभएका कारणले अनइम्प्लोइमेन्ट फारम दर्ता गर्न नसकेको अवस्थामा कलेज र ट्युसनका लागि बुझाउने शुल्कमा केही गर्न सकिन्छ कि भनेर समुदायका अगुवाहरुसंग छलफल गरिरहेका छौं ।’

योर्क कलेजमा अध्यापन गराइरहेका डाक्टर अबिन ओझा भन्छन्, ‘नेपालको पैसासंग यहाको डलर तुलना गर्न सकिन्दैन । विद्यार्थीहरुले काम गर्दै शुल्कको ब्यवस्थापन गर्नुपर्ने हुँदा उनीहरु संग बचत (सेभिङ) नै हुँदैन । जसले गर्दा उनीहरुलाई आर्थिक भार बढ्नेछ ।’