विज्ञान प्रविधि

आज दिनभरजसो वर्षाको सम्भावना, नदीमा जल प्रवाह बढ्ने चेतावनी

फाइल तस्वीर

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भइरहेको वर्षा आज दिनभर जसो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार रातीदेखि जारी वर्षा मंगलबार बिहान केही सुस्ताएको छ । प्रदेश नम्बर २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका अधिकांश स्थानमा बर्षा जारी रहेको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

ती स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भैरहेको विभागले जनाएको छ । पानी पार्ने प्रणाली उत्तर पूर्वतिर सर्दै गएको र यसले निरन्तर वर्षा जारी रहने भन्दै सतर्क रहन विभागले आग्रह गरेको छ ।

खासगरी पहाडी भागमा भएको वर्षाले नदी तथा खोलामा जलसतह बढ्ने भएकाले तटीय क्षेत्रमा सचेत रहने विभागले आग्रह गरेको छ ।

अहिले प्रिमनसुन गतिविधि सक्रिय भएको छ । स्थानीय वायु र पश्चिमी निम्न चापीय प्रणाली मिसिएका कारणले यसले वर्षा गराइरहेको छ ।

केही मात्रामा बंगालको खाडीबाट निस्किएको जलवाष्पयुक्त हावा समेत नेपाली आकासमा मिसिएको हो ।