समाचार

नेपालका पाँचौ संक्रमितले पनि जीते कोरोना, धनगढीका युवा डिस्चार्ज

धनगढी । नेपालमा कोरोना संक्रमित मध्ये पाँचौ व्यक्तिले पनि कोरोना भाइरसको आक्रमणलाई जित्न सफल भएका छन् ।

कैलालीको धनगढीका युवक ३० दिनमा कोरोना जितेर घर फर्किएका हुन् । सुदूरपश्‍चिम क्षेत्रमै पहिलो पटक उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका उनको मंगलबार साँझ डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ । यससँगै अब नेपालमा डिस्चार्ज हुने बिरामीको संख्या ५ पुगेको छ ।

धनगढी उप(महानगरपालिका ५ का ३४ वर्षीय युवकको लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो।

दुबईबाट आएका उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो। तीनपटक परीक्षण गर्दासम्म उनमा कोरोना रिपोर्ट ‘पोजेटिभ’ देखाएपछि अस्पताल भनाई गरिएको थियो ।

यसअघि सोही अस्पतालमा कैलाली लम्कीका २१ वर्षीय संक्रमित युवक पनि डिस्चार्ज भएका थिए। सेतीमा अस्पतालमा अझै तीन जना संक्रमितको उपचार भइरहेको छ।

यता काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट दुईजना र बाग्लुङ अस्पतालबाट एकजना कोरोना संक्रमित निको भएर घर गएका छन् ।

नेपालमा मंगलबार साँझसम्म कूल ४१ जनामा संक्रमण पुष्टी भएको छ । त्यसमध्ये २३ जना उदयपुरमा छन् ।