फिचर

नेपाली सेनाले चीनबाट ल्याउने भयो स्वास्थ्य सामग्री

काठमाडौं । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउने भएको छ । त्यसका लागि सवा २ अर्ब रुपैयाँ चीन पठाइसकेको नेपाली सेनाले जानकारी दिएको छ ।

सैन्य प्रवक्ता विज्ञानदेव पाण्डेले मंगलबार पत्रकारसँग भिडियो वार्ता गर्दै उक्त जानकारी गराएका हुन् ।

चीनका तर्फबाट खरिद सम्झौतामा हस्ताक्षर भएलत्तै सेनाले राष्ट्र बैंक मार्फत २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ रुपैयाँ चीन पठाएको उनले जानकारी दिए ।

नेपाली सेनाका सम्भाररथी प्रभुराम शर्मा र चीनको तर्फबाट त्यहाँका वाणिज्य मन्त्रालयका प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

चीनबाट स्वास्थ्य सामग्री नेपाल आइपुग्न भने अझै एक साता लाग्नेछ। रकम पठाएको एक हप्ताभित्र चीनको सरकारी कम्पनी सिनो मार्फले गोन्जाओमा सामग्री उपलब्ध गराउने गरी सम्झौत भएको हो ।

सेनाले पहिलो चरणमा पीपीई, एन ९५ मास्क, पीसीआर टेस्टका लागि आवश्यक सामग्री ल्याउनेछ । यी सामान हवाईमार्ग बाट ल्याइने भएको छ । तत्काल आवश्यक नपर्ने स्वास्थ्य सामग्री सडक मार्गबाट ढुवानी गर्न सकिने प्रवक्ता पाण्डेले जानकारी दिए ।

सम्झौता अनुसार सबै सामग्री ढुवानी गर्न १५ दिन लाग्ने भएको छ। सरकारले चैत १६ मा नै स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाइए दिएको थियो ।

त्यसपछि जीटूजी प्रक्रिया शुरु गरिएपछि केही समय लागेको हो ।