स्वास्थ्य

न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण

न्युयोर्क      

विश्वकै कोरोना एपिसेन्टर न्युयोर्क राज्यमा मंगलवारसम्म २ लाख ५७ हजार संक्रमित र १९ हजार ७ सयको मृत्‍यु भै सकेको छ ।  सिंगो न्युयोर्क राज्यमा संक्रमितको संख्या  २ लाख ५७ हजार भएपनि म्यानह्याटन, क्वीन्स,   ब्रोंक्स, ब्रुक्लिन  र स्टेटन आइल्याण्डलाई ओगटेको न्युयोर्क शहर भित्र मात्र राज्यको झन्डै ५० प्रतिशत संक्रमित छन् । न्युयोर्क सहरमा १ लाख ३२ हजार ४ सय ६७ जना संक्रमित छन् भने ९ हजार १ सय १ जनाको मृत्‍यु भएको न्युयोर्क हेल्थ डिपार्टमेन्ट्को पछिल्लो आँकडा छ ।  

न्युयोर्क सहरभित्र कोरोना संक्रमित मध्ये २ प्रतिशत मानिस १७ बर्षसम्म उमेर समुहका छन् भने ३७ प्रतिशत मानिस १८ देखि ४४ बर्ष उमेरका छन् । ४५ बर्षदेखि ६४ बर्ष उमेर समुहका संक्रमित पनि ३७ प्रतिशत नै छन् ।  ६५ देखि ७४ बर्ष उमेरका संक्रमित भने १३ प्रतिशत छन् । ७५ बर्ष माथिका संक्रमित भने १२ प्रतिशत छन् । त्यस्तै सुन्ना दशमलब सुन्ना दुई (०.०२ ) प्रतिशत संक्रमितको उमेर खुलेको छैन । न्युयोर्क हेल्थ डिपार्टमेन्टद्वारा जारी उक्त आँकडा अनुसार हालसम्म न्युयोर्क सहरमा कोरोना संक्रमितहुनेहरु १८ बर्षदेखि ६४ बर्ष उमेरका मानिसको संख्या उच्च छ । संक्रमितहरुको संख्यामा पनि महिलाहरु भन्दा पनि पुरुषहरुको संख्या अधिक छ ।  न्युयोर्क सहरमा ४७ प्रतिशत महिला संक्रमित छन् भने ५३ प्रतिशत पुरुष संक्रमित छन् ।  

१ लाख ३२ हजार ४ सय ६७ संक्रमित मध्ये ३४ हजार ७ सय २९ जना उपचारत अस्पाताल भर्ना भएका छन् । उपचारका लागि अस्पाताल भर्ना हुने यो संख्या कुल संक्रमित मध्ये २६ प्रतिशत मात्र हो । सहरमा मृत्‍यु हुने ९ हजार १ सय १ संख्या कुल संक्रमितको ६ दशमलब ८७ प्रतिशत हो । त्यसैगरी मृत्‍यु भएकामध्ये ६ हजार ६ सय ८३ जना मधुमेह, फोक्सोको रोग, दम, क्यान्सर , मुटु रोग, ईमिनो डिफिसियन्सी हाईपरटेन्सन, मृगौला तथा कलेजोको रोगमध्ये कुनै न कुनै रोगका बिरामीहरु हुन् । हालसम्म ५२ जनामात्र कुनै पनि रोग नभएका मानिसको मृत्‍यु भएको छ । मृत्‍यु भएका मध्ये २ हजार ३ सय ६६ जना कोरोना संक्रमण अगाडि अन्य रोगका रोगी भए नभएको नखुलेको न्युयोर्क हेल्थ डिपार्ट्मेन्टले जनाएको छ ।  

न्युयोर्क शहरमा कोरोना संक्रमणबाट मृत्‍यु भएकाहरुमा १७ बर्ष मुनीका ३ जना १८ देखि ४४ बर्ष बर्षसम्मका ३ सय ९५ जना, ४५ देखि ६४ बर्षसम्म उमेरका २ हजार ४८ जना, ६५ देखि ७४ बर्षसम्मका २ हजार २ सय ५३ र ७५ बर्ष माथिका ४ हजार ४ सय १ जनाको मृत्‍यु भएको छ । न्युयोर्क सहरमा मृत्‍यु भएका मध्ये ५ हजार ५ सय ५७ पुरुष छन् भने ३ हजार ५ सय १७ महिला रहेको छ । २७ जना मृतकको लिङ्ग खुलेको छैन ।  

रङ्गका आधारमा भने अश्वेत जातीहरुमा संक्रमणको संख्या उच्च देखिएको छ र एसियनहरुमा न्युन संक्रमण देखिएको छ ।  ब्युरो अफ कम्युनिकेबल डिजिज सर्भिलेन्स सिस्टमद्वारा अप्रिल १६ तारिखमा प्रकाशित डाटा अनुसार अश्वेत जातीहरुमा संक्रमण उच्च देखिएको छ । संक्रमणको दोश्रो नम्बरमा हिस्प्यानिक  र ल्याटिनोहरु देखिएका छन् भने तेश्रोमा श्वेत जातीहरु छन् । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण न्युयोर्क सहरमा भने एसियनहरुमा निकै कम देखिएको छ । ब्युरोका अनुसार प्रतिशतमा अश्वेत ३२ दशमलब ६ प्रतिशत, ल्याटिनो हिस्प्यानिक ३२ दशमलब  ४ प्रतिशत, श्वेतजाती २८ दशमलब ६ प्रतिशत र एसियन ६ दशमलब ३ प्रतिशत संक्रमित देखिएका हुन् ।