बिचार

साहित्यको विधागत वर्गीकरणमा कविता

आचार्य पीपलमणि सिग्देल
न्यूयोर्क

लौकिक कविताले चार हजार वर्षको यात्रा तय गरिसकेको छ । कविता समग्र साहित्यको सबैभन्दा जेठो विधा पनि हो । संस्कृत साहित्य दुई भागमा विभाजित छ स् श्रव्य र दृश्य । दृश्य विधाअन्तर्गत नाटक पर्दछ भने श्रव्य विधाअन्तर्गत गद्य र पद्य विधा पर्दछन् । जीवन र जगतका सूक्ष्म अनुभूति कविहृदयमार्फत् प्रस्फुटित हुँदा थपिने लयात्मक स्वरुपले कविता जन्माउँछ । यति, गति, लयका साथ लेखिने छन्दात्मक अभिव्यक्तिलाई पद्य कविता भनेर परिचय स्थापित गरेपनि साहित्य रचनाको विकासक्रमसँगै गद्यमा पनि लयात्मक छटा भेटिन थालेपछि गद्यकविताको विकास भएको हो । वर्तमानका गद्य कविताको रचना धेरै मात्रामा हुनेगरेको छ । गद्य साहित्यका अन्य विधा कथा, उपन्यास, निबन्ध, जीवनी आदि भन्दा गद्य कविताको पृथक पहिचान छ । लयले नै कविता र अन्य गद्य साहित्यमा भेद स्पष्ट पार्दछ । गीत, गजल र कवितामा केही समानता देखिए पनि गजल र गीतामा गायन पक्ष सबल हुन्छ भने कविता अनुभूतिको रागात्मक कथन लयबद्ध तवरले व्यक्त भएपछि जन्मिन्छ । अतः कविता नाटक, कथा, निबन्ध, उपन्यास, जीवनीका साथै गीत र गजलभन्दा पनि फरक विधा हो ।
स्वरुपका दृष्टिले कविताका पाँच भेद रहेका छन् । कवितामा लघुतम कविता (मुक्तक, हाइकु), लघु कविता (फुटकर कविता), मध्यम कविता (खण्डकाव्य), बृहत् कविता (महाकाव्य), बृहत्तर वा बृहत्तम कविता (विकासशील वा आर्ष काव्य) रहेका छन् । मुक्तक, फुटकर कविता, खण्डकाव्य, तथा महाकाव्यको रचना धेरै संख्यामा हुने गरेता पनि आर्ष महाकाव्यको रचना भने हुने गरेको पाइँदैन ।
लयात्मक अभिव्यक्तिको सबैभन्दा सानो रचनालाई लघुतम कविता या मुक्तक÷हाइकु भनिन्छ । यस्ता रचनामा कम्तीमा अभिव्यक्तिको केही फन्दा मारिएको हुन्छ। यसलाई कविताको सबैभन्दा सानो स्वरुप मानिन्छ । कम्तीमा दुई अनि बढीमा सात हरफको कवितालाई यस वर्गमा राख्न सकिन्छ । यिनमा वस्तुगत वर्णन र आत्मपरक अनुभवको एक झिल्का उद्गार रहन्छ र यसमा कवि चेतनाको एक खास क्षणको स्फुरण हुन्छ । कम्तीमा दुई वा सोभन्दा बढी पङ्क्ति वा हरफ भएका कवितालाई लघु कविता अर्थात् फुटकर कविता भनिन्छ । यसमा क्षण विशेषको अभिव्यक्ति हुन्छ । अनुभूतिको एक झरी यसमा बर्सिन्छ । युग्मक, कलापक, विशेषक तथा कुलक पनि यही लघुरुप अन्तर्गत पर्दछन् । फुटकर कवितामा कुनै वस्तुपरक वर्णन, आत्मपरक अभिव्यक्ति, वा कुनै सूक्ष्म आख्यान पनि आउन सक्छ । जीवन र जगतको कुनै एक पक्षको सशक्त अभिव्यक्ति दिने मझौला कवितालाई मध्यम कविता वा खण्डकाव्य भनिन्छ । अङ्ग्रेजी साहित्यको लामो कविता यस वर्गमा पर्दछ । खण्डकाव्यमा लय, भाषाशैली, जीवनको एक अंशको कथन गर्ने आख्यान, कथावस्तु, पात्रविधान, परिवेश वा देशकाल, भाव र मझौला आयामका शिल्प संरचना आवश्यक हुन्छ । यसमा अनुभूतिको सानो खोला बहन्छ । जीवन र जगतको समग्र पाटो समाविष्ट, सर्ग वा खण्डमा विभाजित, बृहत् संरचनाको अभिव्यक्तिलाई बृहत् कविता अर्थात् महाकाव्य भनिन्छ । १०० भन्दा बढी कविता भएको आठ सर्गभन्दा माथिका काव्य यस महाकाव्य अन्तर्गत पर्दछन् ।
महाकाव्यमा लय, भाषाशैली, समग्र आख्यान, कथानक, पात्रविधान, देशकाल, परिवेश, सर्गयुक्त, धिरोदात्त नायक र कुलीन नायिका भएका बृहत् संरचना नै महाकाव्यका तत्व हुन् । वास्तवमा महाकाव्य तीन सहस्राब्दी पुरानो साहित्यिक विधा हो र साहित्यका हाल चलनचल्तिका विधाहरूमध्ये स्फुट गीत र कथाबाहेक सबभन्दा जेठो, बुढो र पुरानो विधा यही महाकाव्य हो । बृहत्तर कविता (विकासशील वा आर्ष काव्य)ले युगको नै प्रतिनिधित्व गर्दछन् । यस्ता कृतिमा आख्यानभित्र पनि आख्यान हुन्छ । संस्कृतमा रामायण र महाभारत अनि पाश्चात्य साहित्यमा इलियड, ओडिसी र गिल्गामेस यस्ता कृति हुन् । लय, भाषाशैली, पात्र, युगको आख्यान, बृहत् स्वरुप, खण्ड या सर्गयुक्त, कथानक, देशकाल, परिवेश जस्ता यी काव्यका तत्व हुन् । यसरी कविताका विविध रुप रहेका छन् । मुक्तकदेखि विकासशील वा आर्ष महाकाव्यसम्म कविताका अनेक स्वरुप रहेका छन् र हरेक स्वरुपका आ–आफ्ना विशेषता रहेका छन् ।