समाचार

आज मातातीर्थ औंशी, आमाको मुख हेरेर मनाइदै

काठमाडौं । आज मातातीर्थ औंशीको दिन । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन यो पर्व मनाइन्छ ।

आफ्नी आमाको सम्मानमा आमाको मुख हेर्ने, सत्कार आदर गर्ने तथा खुसी राखेर देशभर तथा विदेशमा रहेका नेपालीले समेत यो पर्व मनाउने गर्छन् ।

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो दिनलाई महत्वपूर्ण दिन मानिन्छ ।

आमा हुनेहरुले आमालाई उपचार दिने, मिठो खुवाउने र सत्कार पकट गर्छन भने आमा नभएकाले आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

आज दिवङ्गत आमाको सम्झनामा राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–६ थानकोट नजिकैको मातातीर्थमा मेला लाग्ने गर्छ ।

तर, यस वर्षभने कोरोना संक्रमणका कारण उक्त मेला बन्द भएको छ । सोहीकारण घरघरमा आमालाई मिठो खुवाएर नयाँ कपडा उपहार दिएर यो पर्व मनाइदैछ ।