फिचर

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो, संक्रमित ९ लाख नजिक

न्यूयोर्क

अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ । जोन हप्किन्स विश्व विद्यालयको आँकडा अनुसार शुक्रबार बिहान ज्यान गुमाउनेको संख्या आधा लाखबाट उकालो लागेको हो ।

शुक्रबार अपरान्हसम्ममा भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख ८० हजार पुगेको छ । संक्रमणको दैनिक बृद्धिदरका आधारमा यो संख्या साँझसम्ममा नौ लाख नाघ्ने देखिन्छ । मार्च तेस्रो साता देखि अमेरिकामा भाइरस संक्रमण र मृत्यु हुने क्रम तीब्र गतिले बढेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी महिना एवं मार्च दोस्रो सातासम्म भाइरसले अमेरिकालाई खासै असर नगर्ने दावी दोहोर्याएका थिए । युरोपमा संक्रमण विस्तार भएपछि ट्रम्पले त्यहाँबाट अमेरिकामा यात्रा प्रतिबन्ध त लगाए तर देशभित्र पर्याप्त परिक्षणमा जोड दिएनन् ।

त्यही सुस्त परिक्षणको बेला पारेर अमेरिकामा भाइरस बिस्तारले मौका पाएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । देशभर भाइरस विस्तार भइ सकेपछि ट्रम्पले सामाजीक दूरी कायम गर्ने एवं १० जना भन्दा बढि एक ठाउँमा भेला नहुने आदेश जारी गरे । सबै राज्यहरुले अत्यावश्यक बाहेक ब्यापार व्यवसाय बन्द गरेर नागरिकहरुलाई घरैमा बस्न अनुरोध गरे । उक्त कदमपछि ह्वाइट हाउसले अगष्टसम्ममा ६० हजार अमेरिकीले ज्यान गुमाउन सक्ने आँकलन सार्वजनिक गरेको थियो । तर, दैनिक दुई हजार हाराहारी अमेरिकीले ज्यान गुमाइ रहेको र मे सुरु हुन एक साता अगावै ५० हजारको मृत्यु भइ सकेको अवस्थामा आंकलनभन्दा धेरैको ज्यान जान सक्ने जोखिम देखिएको छ ।

अमेरिका विश्वमै सर्वाधिक भाइरस संक्रमण र मृत्यु भएको देश हो । शुक्रबार अपरान्हसम्ममा विश्वभर २८ लाख संक्रमित पुगेका छन् भने एक लाख ९५ हजारले ज्यान गुमाइ सकेका छन् । सर्वाधिक ज्यान गुमाउनेमा अमेरिका पछि इटाली रहेको छ । त्यहाँ झन्डै २६ हजारको मृत्यु भएको हो । अमेरिकामा भाइरस विस्तारको कुनै ठोस संकेत नदेखिए पनि ट्रम्पले अर्थतन्त्र पुनः सुरु गर्न हतार देखाइ रहेका छन् ।