स्वास्थ्य

कोरोनाका कारण मर्नेको संख्या २ लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरसले मृत्यु हुने मानिसको संख्या २ लाख नाघेको छ । संसारभर २ लाख २ हजार ४ सय ५५ पुगेको हो ।

विश्वभर कोरोना संक्रमितको संख्या २८ लाख ९२ हजार पुगेको तथ्यांक रहेको छ । कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५३ हजार ५ सय ११ जनाको मृत्यु भएको ।

यो मुलुकमा संक्रमित ९ लाख ३६ हजार पुगेको छ । कोरोना भाइरसका कारण पहिलो पटक ११ जनवरीमा मानिसको मृत्यु भएको थियो ।

त्यसपछि अहिलेसम्म यो भाइरस दुई सय १० मुलुकमा फैलिएको छ । अमेरिकासहित पाँचवटा देशमा मृतक संख्या २० हजार भन्दा माथि रहेको छ ।

इटलीमा २६ हजार ३ सय ८४, स्पेनमा २२ हजार ९ सय २, फ्रान्समा २२ हजार ६ सय १४ र बेलायतमा २० हजार ३ सय १९ जनाको मृत्यु भएको तथ्यांक रहेको छ ।

स्पेनमा संक्रमितको संख्या दुई लाख २३ हजार नाघेको छ । इटालीमा अहिलेसम्म एक लाख ९५ हजारभन्दा धेरै संक्रमित भएका छन् ।

विश्वभर अहिलेसम्म आठ लाख ११ हजारभन्दा धेरै संक्रमित निको भएका छन् । जर्मनीमा अहिलेसम्म एक लाख नौ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

अमेरिकामा करिब एक लाख निको भएका छन् भने स्पेनमा पनि ९५ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्फेका छन् ।

नेपालमा ४९ जनामा संक्रमण भएको छ । ११ जना निको भएर फर्किसकेका छन् ।