समाचार

सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध अपहरण जाहेरी प्रहरीले दर्ता गर्न मानेन

काठमाडौं । सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको अभियोगमा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता लिन प्रहरीले अस्वीकार गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता लिन अस्वीस्कार गरेको हो । जनता समाजवादी पार्टीको उच्च नेतृत्वमा रहेको सबैजसो नेता जाहेरी दर्ता गर्न टेकु पुगेका थिए ।

पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो तथा अपहरणमा परेको भनिएका पूर्वस्वास्थ्यमन्त्री डा. सुरेन्द्र यादव समेत टेकु पुगेका हुन्।

परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जाहेरी दर्ता गर्न नमानेको नेताहरुले जनाएका छन् ।

उनले यो घटना महत्त्तरीमाभएको भनिएकाले सोही जिल्लामा गएर जाहेरी दर्ता गर्न सुझाव समेत दिएका छन् ।

यस घटनामा प्रहरीको दोष नभएपनि राज्य आफैले जिम्मेवारी लिनुपर्ने डा. बाबुराम भट्टराईले प्रतिक्रिया दिए ।

ओलीतन्त्रले राज्यको कानुन विधान सबै लत्याएको उनको आरोप छ ।

पूर्व आईजीपी खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए ।

समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरिरहेका छन् ।

सांसद यादवलाई काठमाडौंमा मेरियट होटेलमा राखिएको थियो । सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरूको सम्पर्कमा पुगेका थिए ।

यादवले आफूलाई अपहरणकै शैलीमा काठमाडौं ल्याइएको बयान दिएका छन् । खनाल, श्रेष्ठ र बस्नेतले भने सहमतिमा काठमाडौं आएको बताइरहेका छन् ।