फिचर

इपीएस पास गरेका कामदार कोरिया जान पाउने

काठमाडौं । सरकारले ईपीएस परीक्षा पास गरेका कामदारलाई दक्षिण कोरिया पठाउने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय भएको हो ।

कोरोना भाइरस संक्रमणको महामारीका कारण कोरियाबाट भिसा आएर पनि सयौं नेपाली कोरिया जान पाएका छैनन् । उनीहरुलाई भने लकडाउनकै अवधिमा समेत कोरिया पठाउने भएको हो ।

भिसा आएर पनि धेरै कामदार जान नपाएपछि उनीहरुको भिसा नै स्थगित हुने अवस्था आएपछि दुई देशको सहमतिमा कामदारलाई कोरिया जान दिने निर्णय भएको गरेको अर्थमन्त्री तथा सूचना प्रविधि तथा सञ्चार मन्त्री युवराज खतिवडाले उल्लेख गरे ।

सरकारले माघको अन्तिम साताबाटै भाषा परीक्षा पास गरेर भिसा आएका कामदारलाई पनि कोरिया पठाउन रोकेको थियो ।

कोरियामा कोरोना संक्रमण फैलिएपछि सरकारले जोखिम हुने भन्दै कामदार पठाउन रोकेपछि कोरियाले आपत्ति जनाएको थियो ।

तर अहिले कोरियामा जोखिम धेरै हदसम्म नियन्त्रणमा आएको छ । ४ चैतपछि भने नेपालले अन्तराष्ट्रिय उडान बन्द गर्यो ।

त्यसपछि भने कुनै पनि नेपाली विदेश जान पाएका छैनन् । कोरियामा कामदारको भिसा आएको तीन महिनाभित्रै कोरिया पुग्नुपर्ने नियम छ ।

सन् २०२० का लागि कोरिया भाषा परीक्षा पास भएका १२ हजार कामदारको कोरिया जाने बाटो पनि यस निर्णयले खुलेको छ ।