फिचर

सन् २०२० को पहिलो त्रैमासमा ४.८ प्रतिशतले गिर्यो अमेरिकी अर्थतन्त्र

वासिंटन । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा यसले पार्ने बहुआयामित असरका प्रभाव देखिन थालेका छन् ।

खासगरी अमेरिकाको अर्थतन्त्रलाई कोरोनाले ठूलो धक्का दिने अमेरिकी सरकारका अधिकारीहरुले बताएका छन् । सन् २०२० को पहिलो त्रैमासमा मात्र ठूलो गिरावट आएको छ ।

अमेरिकी वाणिज्य मन्त्रालयको आंकडाअनुसार यस अवधिमा अमेरिकाको अर्थतन्त्र ४.८ प्रतिशतले कम भएके छ ।

यसले अर्थतन्त्रमा पारेको खाडलको अवस्था देखाउँछ । सन् २०१९ को अन्तिम तीन महिनामा अमेरिकाको अर्थतन्त्र २.१ प्रतिशतले वृद्धि भएको थियो ।

अमेरिकी अधिकारीहरुका अनुसार पहिलो त्रैमासमा भएको आर्थिक क्षति सन् २००९ को पहिलो त्रैमासयताकै डरलाग्दो हो ।

मार्च अन्तिमसाता यता अमेरिकामा आर्थिक गतिविधिहरु प्रभावित भएका छन् । करोडौं मानिसले बेराजगारी भत्ताका लागि निवेदन दिएका छन् ।

मानिसहरुलाई लकडाउनमा राखिएको, अर्थतन्त्रका अवयवहरु संचालन हुन नसकेको र ठूलो खर्च कोरोना विरुद्धको लडाईमा लगाउनु परेका कारण यसको असर अर्थतन्त्रमा देखिएको छ ।

यसले आगामी दिनमा अमेरिकी अर्थतन्त्रलाई अझ नराम्रोसँग प्रभवित बनाउने संकेत गरेको अधिकारीहरुले बताएका छन् ।

अमेरिकामा १० लाख भन्दा बढी मानिसमा कोरोना देखिएको छ । ६१ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।