विश्व

भारतमा आज शक्तिशाली वायुको चेतावनी, लाखौं मानिसलाई सुरक्षित स्थानमा सारियो

भारतको गुजरात राज्यमा शक्तिशाली आँधि आउने सम्भावनालाई ध्यानमा राख्दै करीव तीन लाख मानिसलाई सुरक्षित स्थानमा पुर्याइएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार बिहीबार बिहानै गुजरातको पोरबन्दरस्थित समुन्द्रमा छालहरु देखिन थालिसकेका छन् ।

बिहानैदेखि तिब्र गतिमा हावा चलिरहेको र त्यसले कमजोर भौतिक संरचनाहरुमा क्षति पुर्याउन थालिसकेको बताइएको छ । भारतीय मौसम विभागका अनुसार सोमनाथ, पोरबन्दर, राजकोट, देवभूमि, द्धारका र कच्छसम्म यो आँधिले बिहीबार आफ्नो प्रभाव देखाउने छ ।

बिहीबार दिउसो आउने चेतावनी दिइएको आँधि १ सय ५५ किलोमिटर देखि १ सय ६५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आउने छ । भारतमा सेना, वायुसेना तथा आपतकालिन फोर्सलाई तयारी अवस्थामा राखिएको छ भने समुन्द्री किनारहरु बन्द गरिएको छ ।

आँधि आएको २४ घण्टासम्म पनि यसको असर देखिने भन्दै स्थानीय प्रशासनले सचेत रहने नागरिकलाई आग्रह समेत गरेको छ । बिहीबार मूख्य रेलमार्गका करी ४० रेल पूर्ण रुपमा बन्द गरिएको छ भने २८ रेल सेवा आंशिक रुपमा बन्द हुने भएका छन् ।

उता, कैयौं जिल्लाको हवाई सेवा समेत प्रभावित हुने बताइएको छ ।
एजेन्सी