बिचार

कीर्तिपुर अर्थात टोलेगुण्डाबाट पिटिएको शहरबाट

प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर

अहिले सर्वत्र कीर्तिपुरको चर्चा छ । कीर्तिपुरलाई विश्वब्यापी महामारी कोरोनाको संक्रमणबाट अहोरात्र रक्षार्थ खटिएका, शालीन ब्यक्तिको रुपमा चिनिएका मेयरमा गालीहरु खनिएका छन् । सेवा गर्दा सामान्य त्रुटी हुन सक्ला तर यसलाई राष्ट्रिय वहस कीर्तिपुर विषय बनाउनु पर्ला जस्तो लाग्दैन ।

देशैभरि बिद्यार्थी छन् नि, कीर्तिपुरकै बिद्यार्थीलाई राहत किन चाहियो ? भन्ने प्रश्नसम्म नसोधि, राहत वितरणका लागि बिद्यार्थीको तथ्यांक लियो । कीर्तिपुर नगरपालिकाको भूल यही थियो कि ? आफ्ना बालबालिकालाई घरमा भोकै राखेर, कोही भोका नरहून भनेर चोक चोकमा हात, हातमा तातो भात लिएर बस्नु के यहाँका मानवता भएका कीर्तिपुरबासीको अपराध यही थियो कि ? खोई त पत्रकारका आँखा यस्ता मानवता लहलहराएका दृष्यहरुमा ? आउनुस् सकरात्मक मन लिएर कीर्तिपुरमा, मानवताले सगर्व टाउको उठाइरहेको यस्ता हजारौं दृष्य देखिनेछ ।

यही सन्दर्भमा, बिद्यार्थी नेता हेमराज थापाले खडग ओलीको ठाडो निर्देशनमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गुण्डा परिचालन गरेर बीच सडकमा बिद्यार्थीलाई ढलाएर टाउकै टाउकामा पिटिएको छ भनेर सामान्य एउटा भिडियो क्लिप आफ्नो सामाजिक सञ्जालमा राखेको रहेछ । म स्वयम् कीर्तिपुरवासी भएकोले टोलेगुण्डा को रहेछन् ? भनेर हेर्न उत्सकुता जाग्यो । भिडियो क्लिप हेर्दा त टोलेगुण्डाहरुलाई पहिचानेँ मैले । एउटा गुण्डा बिरामीलाई औषधि पोका पार्दापार्दै बाहिर निस्कनु भएको रहेछ, अर्को गुण्डा त्यही नगाउँ दोबाटोमा तिनै बिद्यार्थीहरुलाई भात खुवाउँदा खुवाउँदै दौडेको रहेछ । जो सबैभन्दा आक्रमक देखिएको थियो भिडियो क्लिपमा, हालै कीर्तिपुर नगरपालिकाको आपतकालीन कोषमा राहतका निम्ति भनेर पचास हजार सहयोग गरेका दाता परिवारका रहेछन् । भोकालाई भात खुवाउन चाहेका एक साधारण कीर्तिपुरको नागरिकले तिनै बिद्यार्थीलाई लात किन खुवायो यस्मा चिन्तन मनन गरौँ । एक त लकडाउनको समयमा लकडाउन तोडनु आफैमा भूल हो । त्यस्मा पनि कीर्तिपुरमै बसेर कसैले कीर्तिपुरप्रति अपशब्द प्रयोग गर्न थालेपछि के कीर्तिपुरबासीको रगत तातो नभएर चिसो हुन्छ र ? मानवीय रगत पनि मिनरल वाटरको पानी भए बेग्लै कुरो !

कीर्तिपुर सदैव जातीय सदभावमा रमायो । आजसम्म कीर्तिपुरले कसैलाई पनि जातीय रुपमा विभेद गरेको मैले देख्या छैन । आज एक दुई जनाले कीर्तिपुरलाई कलंक पोत्दै हिँडदा भन्न करै लाग्यो, कीर्तिपुर त्यो टोलेगुण्डाहरुको सहर रहेछ, जस्ले छयालीस सालको परिवर्तनका लागि आफ्नो ज्यान आहुति दिएका थिए । यदाकदा, हाम्रै कारण कीर्तिपुर विकास भएका हुन् भन्ने गरेको पनि सुनिन्छ, यदि त्यो हो भने त्यस्तो निकृष्ट सोच राख्नेले जवाफ देओस्, छयालीस सालको जनआन्दोलनमा कुन चाँहि बिद्यार्थी नेताको खुन बगेको छ यहाँ ? आखिर जमिनमा खुन बगाउँदा उहीँ ज्यापूहरु होइन र ? उहीँ टोलेगुण्डाहरु होइन र ? खसी बजारको पुलिसचौकीसँगै चुलाएका शहिदका सालिक पनि टोलेगुण्डैहरुका हुन कि ? यति हेक्का होस, कीर्तिपुरबासीको एकता ज्वालामुखी भन्दा बढी विस्फोटक छ ।

बिद्यार्थी नेता हेमराज थापाले पनि पटक पटक कीर्तिपुरसँग कुनै दुश्मनी नभएको र आफ्नो डेरामा फर्कन चाहेको विचार पनि राख्नु भएको छ । बिद्यार्थीहरुको कीर्तिपुर र कीर्तिपुरवासीप्रति प्रेम भए जस्तो कीर्तिपुर र कीर्तिपुरबासीको पनि बिद्यार्थीहरु प्रति अथाह प्रेम छ । कीर्तिपुर त्यति निर्दयी छैन । निर्दयी भएको भए, साठी वर्षदेखि निरन्तर कीर्तिपुरले जातीय सदभावको माला उन्ने थिएन । आआौं, फेरि अँगालो मारौँ, हाम्रो भाइचारा अझै मरेको छैन । गालाहरु जोत्दै होलीमा रंगाएका अविरहरु अझै पखालिएको छैन । जो कोही होस, हामी नेपाली हौँ र यो आपतको घडीमा हामीबीच सहकार्य र सदभाव आवश्यक छ ।