बिचार

अमेरिकी भेदभाव भर्सेस नेपाली भेदभाव

vishwa-news

योगेश आदी रामराज्यको परिकल्पना भित्र भेदभाव शब्द अटाएको थियो भने तिमी कस्को राज्यमा बस्छौ र भेदभाव रहित समाजको कल्पनामा गर्न ?  कुरा सुरु गरौं - अमेरिकाको । अमेरिकाको पनि न्युयोर्क सहरको । न्युयोर्क सहरका नेपाली चेलीबेटीहरुले लिइरहने नाम मध्येको एउटा नाम 'रानीको पार्लर' हो । ती भारतीय महिलाको न्युयोर्कमा १५/१६ ओटा जति ब्युटी पार्लरहरु छन् । उनले नेपाली वा भारतीय कामदारको नाम तुरुन्तै फेरेर बिदेशी जिब्रो मैत्री बनाइदिंदो रहेछिन् । कारण अर्कै बताएपनि कालिकोटको धनबहादुर काठमाडौं आएपछि धनज भएजस्तै रहेछ ।  मेरो साथीको नाम अमेरिकामा आएपछि प्याट्रिक भए जस्तै थुप्रैको नाम फेरिएको रहेछ । यतै जन्मेका छोराछोरीको नाम बिदेशी राख्ने त सामान्य नै भइहाल्यो । नाम किन फेरेको ? भनेर सोध्दा 'नाम सुन्ने वा पढ्ने बित्तिकै भेदभावको सामना गर्न नपरोस् भनेर' भन्ने जवाफ पाएँ । बालबच्चाको नाम किन बिदेशी ? भन्दा 'यिनीहरु यतै बस्ने भएपछि नामैको कारणले क्षमता र अवसरमा भेदभाव नहोस् भनेर' भन्ने आसयको जवाफ पाएँ । सायद अमेरिकी कानूनले यस्तै किसिमको भेदभाव न्युनिकरणको लागि हुनुपर्छ; आप्रबासीले अमेरिकामा नागरिक बन्ने बेलामा नाम-थर पूर्ण रुपमा नै फेर्न पाइने प्रावधान राखेको छ । अमेरिका जस्तो देशमा नामैको कारण भेदभाव हुन्छ ? हुन्छ । नामको कारण हुन्छ । रंगको कारण हुन्छ । लिंगको कारण हुन्छ । कदको कारण हुन्छ । भाषाको कारण हुन्छ । आर्थिक कारणले हुन्छ । भेदभाव कानूनको नजरमा अक्षम्य अपराधको कोटीमा परेतापनि दोश्रो चोकमा पुग्ने बित्तिकै भेदभाव हुन थाल्दछ । संसारको सबैभन्दा बिबेकीहरु बस्ने देश नर्वेमा हुन्छ भने अमेरिकामा किन हुँदैन ? भेदभाव आँखाले फरक छुट्याउन्जेल हुँदो रहेछ । यद्यपी अमेरिकामा जातको कारणले हुने भेदभाव भने हुँदैन । त्यसो त नेपालमा रंगको कारणले हुँदैन, जुन अमेरिकामा हुन्छ ।  भेदभाव जीवनको पर्याय हो । तुलना रहेसम्म भेदभाव हट्दैन । प्रतिस्पर्धा हुन्जेल भेदभाव बिद्यमान रहन्छ नै । कति अंशको ? कस्को किसिमको ? भन्ने अन्तर रहला वा, अथवा, न्युनिकरण होला तर निमिट्यान्न हुनैसक्दैन ।  भेदभाव नहुने ठाउँ र विषय नै छैन । अमेरिकामा जुन अहिले छालाको रंगको कारणले भनेर रंगभेद बिरोधि आवाज उठिरहेका छन्  । त्यो वास्तवमा रंगको कारणले भएको आन्दोलन होइन । यो दृष्टिकोणको बिरुद्धमा उठेको आवाज हो । आर्थिक खाडलले पैदा गरेको स्वाभाव र हिनभाव बिरुद्धको आवाज हो । प्रबृत्तिको खिलाफको धावा हो । किनकि यो आन्दोलनमा कालो छालाको मान्छे मात्र छैनन् । त्यही हाराहारीमा सेतो, पहेंलो र गहुँको जस्तो छाला भएकाहरु पनि छन् । यस्तै आवाज लिंकन हुँदै मार्टिन लुथरले पनि उठाए अबको १०० बर्ष पछि पनि कुनै न कुनै रुपमा उठ्ने नै छ । सदियौं (सयौं सयौं वर्ष) लागेर मानवीय स्वाभावले बनाएको खाडल सजिलै पुरिदैन । रंगकै कारणले हुँदो हो त संसारमै हाल सवैभन्दा बढी मान्छे मारिरहेको रुवाण्डामा हुतु र तुत्सी दुबै हैर्दा कालो छालाको छन् । हिट्लर र जुइसकको छाला पनि उस्तै रंगको थियो । मैले धर्मको कारणले हुने भेदभाव लेख्न थालें भने कहिल्यै पुरा हुँदैन । शक्तिको कारणले हुने भेदभावको पनि काव्य नै बन्दछ । भेदभाव मध्येमा सबैभन्दा सजिलो अन्त्य हुने भेदभाव भनेको जातको कारणले हुने भेदभाव हो । यसको प्रमाण हालको अमेरिका, अष्ट्रेलिया र युरोपलाई हेर्दा हुन्छ । शिक्षाको स्तर र आर्थिक सम्पन्नताले तराजु भरिएपछि यो जातको भेदभाव हराउँदै जान्छ । यी देशहरुमा पनि कुनै समय जातको भेदभाव हुन्थ्यो । अहिले अमेरिकामा स्मिथ, गोल्डस्मिथ, शुमेकर इत्यादि थरहरुलाई कसैले वास्तै गर्दैनन् ।  अहिले पनि कतिपयले अमेरिकामा पतिको थर राख्छन् । कतिले राख्दैनन् । थरको स्वतन्त्रता हुनुपर्छ । अमेरिकामै मेरो एकजना प्रदीप थापा नाम गरेको अग्रजले श्रीमतीको थरबाट आफु प्रदीप थापा परियार बनेका छन् । यो एउटा स्वतन्त्रता र स्वच्छन्दताको अभ्यास पनि हो । नेपालमा पनि गायिका ममता दिपविमका पिता मदन बस्नेतले मदन दिपविम राखेजस्तै । साहित्यकार बालकृष्ण समशेरले आफु 'शेर' नभएको र सबैप्रति समता रहेकोले 'सम' मात्रै राखे जस्तै । यद्यपी हाल कतिपयले आफुलाई 'शेर' ठानेर नाममा 'लायन' जोडेको पनि देख्दछु ।  खैर भेदभाव यस्तै कणकणबाट शुरु हुन्छ । नेपालीले अझैपनि छोराको बिहेमा 'बुहारी भित्र्याउने' भन्ने गर्दछन् । छोरीलाई चाँहि 'अन्माउने' अर्थात पठाउने शब्द प्रयोग गर्छन् । वास्तवमा दुबैले बराबरी नयाँ जीवन सुरु गर्न गइरहेका हुन्छन् । यो सामाजिक संरचनाले उत्पादन गरेको भेदभाव हो । अन्त्यमा; के देख्दछु भने भेदभाव अनन्त छ । कणकणमा छ । यो आन्दोलनबाट हट्दैन । किनकि कानूनले त भेदभाव कहिल्यै गरेकै छैन । कानूनमा लेखिएका नैसर्गिक अधिकार र समताका अक्षरले त कसलाई छुटाएको छ र ? भेदभावको न्युनिकरण बिबेक र चेतनाले बिस्तारै हुन्छ ।

ad-archer