बिचार

बुईगलमा छौंडा पालेर शान्तिको कुरा ?

vishwa-news

पुरुषोत्तम लम्साल, भर्जिनिया नेकपा एमाले र माओवादी केन्द्रको बहूमत समूहको एकीकरणपछि बनेको सग्लो नेकपाले संघीय नेपालको पहिलो आमनिर्वाचनमा सुविधाजनक बहूमत प्राप्त गर्यो । अर्थात पार्टी एकताको अन्तर्य र अभिष्ट दुबै सिद्ध भयो । खड्गप्रसाद (केपी) ओली दोश्रो पटक देशको प्रधानमन्त्री बने । ओली नेतृत्वको सरकार दुई तिहाईको बहुमतप् राप्त सरकारमा दर्ज भयो । तर, जसै सरकार चलायमान भयो ओलीमाथि पार्टी भित्रैबाट प्रहार निरन्तर भयो । सरकारले पार्टीको नेतृत्व गर्ने वा पार्टीले सरकारलाई निर्देश गर्ने विषय गम्भीर बनेर सतहमा झर्यो । सत्तारुढ नेकपा गुटहरुको क्लब जस्तो बनेरै गतिशील बन्यो । यसलाई धेरैले जीवित पार्टीमा अन्तरसङ्घर्ष जायज हुने र पार्टी चलायमान हुन बहस र विवाद अनिवार्य रहेको सौन्दर्यशास्त्रको व्याख्या प्रस्तुत गरेरै रमाए । यथार्थमा, आजसम्मका विवादमा सौन्दर्यशास्त्रको अंश कहीं कतै प्रस्तुत भएन फगत जुँगाको लडाई, हीन मनोग्रन्थीको अभिव्यक्ति, भयको मनोविज्ञान र गुटगत सबलताको पक्षपोषण मात्र जबरजस्त रहेको अकाट्य सत्य हो । विवादका पछिल्ला श्रृङ्खलामा घरि २०७५ जेठ २ गते पार्टी एकता गर्दा भएको सहमतिको विषय मुद्दा बन्यो, घरि एउटा अध्यक्षले अर्को अध्यक्षलाई तदनुरुपको अख्तियारी निर्वाह गर्न अवरोध गरेको विषय मुद्दा बनेर मतविभाजन भयो । मतविभाजन जायजै थियो तर विवादले पार्टी र संगठनको तल्लो तहसम्म मन विभाजनको आधार तयार गर्यो । २०७६ मंसिर ४ गते फेरि अर्को घोषणा भयो, आलोपालो प्रधानमन्त्रीको मुद्दा थाँती रह्यो वा किनारा लाग्यो तर सरकार र पार्टीभित्र को शक्तिशाली र को कमजोर ?भन्ने तागत देखाउने परिघटना विकसित भए । सारतः एकतापछि आजसम्म पार्टी कहीं सग्लो छैन । कसैले छ भन्छ भने त्यो सरासर झूठ हो ? दुनियाँलाई थाहा भएको तथ्य के भने सत्तारुढ घटकभित्र केपी ओली, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम हुँदै रामबहादुर थापा र भीम रावलसम्मका आफ्नै स्वार्थ समूह छन् । बाँसुरीमा जति प्वाल हुन्छन् नेकपाभित्र त्यति नै स्वार्थसमूह छन् । यी सबै प्वालबाट घरि समृद्धिको, घरि समाजवादको कर्कश धून बज्छ । तर ती सबै स्वार्थसमूह आजसम्म बैचारिक, नीतिगत, कार्यक्रमिक बहसबाट कोशौं पर छन् । नीति होइन नेतृत्वको सवालमा यी सबै स्वार्थसमूह एकविरुद्ध अर्कोमा र अर्कोविरुद्ध एकमा प्रयोग हुँदै आइरहेको स्पष्ट छ । यो तथ्यले भन्छ सरकार पूर्वघोषित नीति र कार्यक्रमहरुबाट विचलित छ, पार्टी नीतिभन्दा नेतृत्वमा कसको हैकम जमाउने भन्ने विवादको भूमरीमा छ र यसको सजाय देशले पाइरहेको छ ।'पुच्छरले टाउको हल्लाउने वा टाउकोले पुच्छर चलाउने' भन्ने लोक हसाउने यो बहसमा हप्तैपिच्छे नयाँ नयाँ सहायक मुद्दा जोडिएर आउँछन् । राजनीतिक नियुक्तिमा स्वार्थसमूहलाई भाग नलगाइएको, विधेयकहरु प्रस्तुत गर्दा स्वार्थसमूहमा छलफल नचलाइएको आदि आदि । अनि पार्टीभित्र पार्टी चलाउनेहरुभित्र भय पैदा हुन्छ, ‘अब ओलीले देश खायो, म र मेरो समूहलाई किनारामा धकेल्न खोज्यो ।’ सचिवालयमा टाउको गनेर मुद्दाको उठान र वैठान हुन्छ । स्थायी समितिमा टाउको गनेर मुद्दा लैजाने कि सेलाउने प्रपञ्च तयार हुन्छ, होटेल र चोटाकोठा चाहार्दै हस्ताक्षर अभियान चलाउने अभियान रचिन्छ । हुँदा हुँदा ‘तँ तँ र म म’ को शैलीमा ‘तँ दक्षिणको दलाल, तँ उत्तरको पुतली’को जस्तो घीनलाग्दो आरोप प्रत्यारोपले बाटो बनाउँछ । अपेक्षाहरुको कसीबाट जाँच्दा यो भन्दा अभिषाप के हुन्छ ? सरकारविरुद्ध पार्टी र पार्टीविरुद्ध सरकारको यो नियतिको परिणाम पार्टी कहीं कतै सग्लो छैन । देखिदैन । शीरदेखि पाइतालासम्मको गुटगत ध्रुवीकरण नेकपा तोरिलाहूरेहरुको पार्टी हुँदै गएको जिउँदोजाग्दो प्रमाण हो । झोलाभित्र झोला, त्यो झोलाभित्र अर्को झोला भनेजस्तै पार्टीभित्र अनेक पार्टी चलायमान हुँदा राष्ट्रिय मुद्दाहरु आजको भोली ओझेल परिरहेका छन् । सुशासन ओइलानपतान भएको छ । सरकार मुठ्ठीभरका ‘ओलीगार्की’का हिमायतीहरुको कठपुतली मात्र बनिरहेको छनक मिल्छ । अरु त अरु राष्ट्रिय एकता निर्माण गर्न सफल मुद्दाहरु छिनमै विषयान्तर हुन्छन् । जनताले न सरकार बलियो भएको अनुभूति गर्न पाए न पार्टी बलियो भएको अनुभव । यसको सिधा निश्कर्ष राज्य कहिल्यै बलियो भएन भन्ने मात्र भयो । कर्कलाको पातमाथि जमेको पानीको थोपालाई आधार बनाएर भविष्यवाणी गर्नेहरु धेरै देखिए । ‘लौ लौ फुट्यो, सरकार पनि सकियो, पार्टी पनि सकियो’ भन्ने धेरै भेटिए । ‘खाइस्... ’ र ‘खुच्चिंग...’ भन्दै पीठ फर्काएर हिंड्ने पनि देखिए । तर, पार्टी कसले, कुन आधारमा, किन विभाजन गर्छ भन्ने उत्तर कसैले दिन सकेनन् । प्रधानमन्त्रीले ‘मन रहे पो मायाप्रिति, मन नपरे यत्रैसिति’ को शैलीमा ‘तिमी जाने भए जाउ’ भनेकै हुन् । नेपाल, खनाल र गौतमहरुमाथि निसंकोच विश्वास हुँदो हो त पुष्पकमल दाहालले कुटिल खेलै नखेली प्रधानमन्त्रीविरुद्ध पार्टीभित्रैबाट लिखित निर्णय ठोक्नसक्ने थिए । तर जाने को ? किन ? कसमाथि विश्वास गरेर ? माधव नेपाल र झलनाथ खनाललाई विश्वास गरेर पार्टी संरचनामा बहूमतको टाउको गनेर पुष्पकमल दाहालले बल्लतल्ल टेक्न लागेको खुट्टामा आफैं बञ्चरो हान्ने ? यो बालसुलभ तर्कमा धेरै रमाए । माधव नेपाल र झलनाथ खनालले दाहालमाथि विश्वास गरेर पार्टी विभाजनको आधार तयार गर्ने ? लखरलखर दाहालको पछि लागेर नेपाल, खनाल र गौतमहरुले आजसम्मको आफ्नो विरासत दाउमा राख्छन् ? यो अर्को बालसुलभ तर्कना मात्र हो । अनि पार्टी संरचनामा आफू अल्पमतमा हुँदाहुँदै विभाजनको बाटो खोल्न प्रधानमन्त्री ओलीले अध्यादेश ठोक्ने ? प्रधानमन्त्रीको रुपमा ओलीले घरमा आगो लगाएर खरानीको न्यानो ताप्छन् भन्ने निम्छरा तर्कहरु फगत विलासका विषय मात्र हुन् । तत्कालका लागि प्रधानमन्त्री ओलीको एउटा खड्गो टरेको मात्र हो । आवेश र उत्तेजना कम हुँदै गएपछि सरकारविरुद्धको संगठित घेराबन्दी स्थगित भएको मात्र हो, अन्त्य भएको होइन । सत्य यही हो । प्रधानमन्त्रीका एकजना मुख्य सल्लाहकारको भाषामा ‘बार्दली र बुईगलमा छौंडा पालेपछि’ घरमा शान्ति र चैन परको कुरा हो । पार्टी र सरकार दुबैभित्र यही दिशा र कोण लागू हुन्छ । धन्न, ६० वर्ष मुनिको एउटा जमात स्वार्थसमूहको कोटरीबाट बाहिर निस्किएर सग्लो पार्टीको पक्षमा जनमत बनाउने पहलकदमी लिन तयार हुनु मात्र अहिलेको मतभिन्नताको सकारात्मक पक्ष हो । खैर, यसबीचमा पनि राष्ट्रिय संकटका मुद्दाहरु थाँती नै छन् । बैदेशिक स्वार्थ गाँसिएका कार्यक्रमहरु एकपछि अर्को जिउँदा छन् । महाव्याधीको सङ्कट, प्राकृतिक विपत्तिको सङ्कट, बैदेशिक हस्तक्षेपको सङ्कट, आर्थिक गतिशीलताको सङ्कट, रोजगारी र सामाजिक सुरक्षाको सङ्कट, आर्थिक अपारदर्शिता र कुशासनको सङ्कट लहरै छन् । कम्तीमा जनताले सरकार त भन्ने महशुस मात्र गर्न पाए अहिलेका लागि त्यत्ति नै श्रेष्ठ विषय हो । पार्टी त एउटा थाङ्नामा मुतेर अर्को थाङ्नामा ओछ्यान लगाउनेहरुको क्रिडास्थल न हो ।

ad-archer