कला / साहित्य

कथा : निशा

vishwa-news

प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर

"मेरो जीवन निकै छोटो छ । मलाई थाहा छैन म अब कति दिन बाँच्नेछु । जति दिन बाँच्नेछु, म तपाईकै अँगालोमा बाँच्न चाहन्छु" ।

यति बोल्दै निशाले मलाई बेसरी अँगालो मारिन् । मेरो छातिमा आफ्नो टाउको लुकाएर सुँक्क सुँक्क रोइन् । मैले आफ्नो छाति भिजेको महसुस गरेँ । हुन त आकास पनि रोइरहेको थियो त, सावनकोे धर्म । त्यो झरीले भन्दा मलाई उनको झरीले बढ्ता रुझाइरहेको थियो । मेरा भिजेका औँलाहरु चुम्दै बोलेकी थिइन्, ‘मेरो शेषपछि तिमीले म जस्तै माया गर्ने मान्छेसँग जीवन बिताउनु है । मेरो एक एक सपना, उस्को सपना पुरा गरेर पूर्ति गर्नु । उस्लाई हँसाएर - मलाई हँसाउनु । उसलाई धेरै प्यार लुटाउनु । विवाहको हनिमुन मनाउँदा पोखरा लैजानु । उस्लाई पहेँलो रंगको साडी उपहार दिनु । मलाई साह्रै मन पर्छ - पहेँलो । सायद मरेपछि आत्माको अस्तित्व रहन्छ र धर्मले परिकल्पना गरेजस्तो त्यो आत्मा शक्तिशाली हुन्छ भने म तिम्रो श्रीमतीको हातमाथि आफ्नो हात पसारेर बसेकी हुनेछु र तिमीले दिएको पहेँलो साडी थापिलिनेछु । मेरो शेषपछि, तिमी एक्लै बाँचौला भन्ने मलाई पिर छ ।’

उनका प्रेमिल सजल आँखामा आँखा जुधाउँदै बोलेको थिएँ, ‘निशा, म तिमी बिनाको जीवन त कल्पना पनि गर्न सक्दिनँ । सायद जीवन एक्लिएरै काट्छु होला...।’

एक्कासी "चिया सेलाइ सक्यो... !" तिखो आवाज आयो । कर्कश बोलीले म झँसङ्ग झस्किएँ । 

धेरै पुरानो सम्झनामा पो हराएको रहेछु । श्रीमतीले टेबुलमा सुटुक्क छोडेर गएको चिया पनि सेलाइसकेको थियो । चियाको पारखी हुँदाहुँदै पनि सेलाएको चिया पिउने मेरो आदत थिएन । एउटा चिसो सम्झनामा हराउँदा हराउँदै प्रिय चिया पनि गिलासमै सेलाएर बलिदान भइसकेको रहेछ ।

समयको श्रृंखलाबद्द ठट्टामा म चोइटिएको छु, खुइलिएको छु । जीवनमा प्रिय चिज केही पनि प्राप्त भएन । अप्रिय चिज भने बिना याचना पनि पाइरहेँ । समयसँगको निरन्तर प्रतिद्धन्दिताले अव यस्तो लाग्न थालि सक्यो कि; म हार्दा यो समयले केक काट्छ । म रुँदा समयले दीपावली मनाउँछ । समय जति क्रुर दुश्मन, अन्य दुश्मन छैन मेरो ।

निशा, मेरो पूर्व प्रेमिका । कक्षा ६ देखि नै हाम्रो माया पल्लवित भएको थियो । पहिलो नजरमै अंकुरित प्रेम । उनी सित बाँकी जीवन बिताउने सपना देखेको थिएँ । भाग्यको खेल भनुँ, ब्लड क्यान्सरले उनलाई मेरो जीवनबाट धेरै टाढा लग्यो । त्यो वियोगले मेरो मुटु बिक्षिप्त बन्दा सोचेको थिएँ, उनीबिनाको जीवन सशरीर बौलाएरै अस्त होला । तर, म बौलाइन । सायद मेरो बहुलठ्ठी समयलाई मञ्जुरी थिएन । उनी बिनाको जीवन एउटा बकसपत्र जस्तो भयो, जस्मा समयको करारनामा थियो, सम्झौता गरी बाँच्नुपर्ने । अहिले टेबुलमा सेलाएको चिया पनि तिनै सम्झौताको एक हरफ हो ।

टेबुलको चियालाई गुडबाइ गरेर म अर्को कोठामा प्रवेश गरेँ । जहाँ एउटा सानो लाइब्रेरी थियो । किताबको चाङ्गबाट एउटा पुरानो डायरी निकालेँ । आँखा किन किन भरिएर आयो । आँखाले यति बोझ उचाल्यो कि आँखा नै पुछेपछि मात्र चश्माभित्रको दृष्य उज्यालिए । त्यो डायरी पनि निशाले नै दिएको उपहार थियो । निशाको जब जब ज्यादै याद आउथ्यो म होस वा बेहोसमा त्यही डायरी च्यापिरहेको हुन्थें । आर्यघाटले दावी नगरेको निशाको एक मात्र निस्सा, मेरो उदास हरपलको सहचरी, मेरो प्रणय डायरी !

डायरीको बीचबाट एउटा कागजको टुक्रा फुत्त झर्यो । उठाएर हेरेँ । निशाले आफ्नो मृत्युको सात दिनअघि लेखिएको एउटा पत्र थियो, केरमेट अक्षरमा लेखिएको उहीँ ब्यहोरा, जो उनले मलाई वारम्वार भन्ने गर्थिन– तिमीलाई जव धेरै दुख लाग्छ, धर्तीतिर आँखा झुकाउनु । जव सुख हुन्छ, आकासतिर नजर उठाउनु, म तिमीसँग नजर जुधाइरहेकी हुनेछु । मेरो शेषपछि तिमीले म जस्तै माया गर्ने मान्छेसँग जीवन बिताउनु है । उसलाई धेरै प्यार लुटाउनु । विवाहको हनिमुन मनाउँदा पोखरा लैजानु । उस्लाई पहेँलो रंगको साडी उपहार दिनु... यस्तै यस्तै !

निशाको मृत्यु भएको दिन म जीवनमा कहिले बिर्सन सक्दिनँ । सिमसिम पानी परिरहेको थियो । आर्यघाटमा उनको लास सुताइएको थियो । उनको अल्पायु जीवनलाई हेरेर काललाई सतोसराप नगर्ने कोही थिएन त्यहाँ । पटपट जलिरहेको उनको लास सम्झेर म अहिले पनि विक्षिप्त हुन्छु । त्यो फागुन पाँच, मेरो जीवनकै सवैभन्दा कालो दिन ।

मैले निशाको मृत्युपछि विवाह नगर्ने निधो गरेँ । तर परिस्थितिले मलाई एक्लै रहन दिएन । घरपरिवारबाट विवाहको ठुलै दवाव आयो । विशेषत आमा धेरै दुखी हुनुभयो । आमाको खुसीको लागि भए पनि विवाह गर्न म बाध्य भएँ । विवाहको मिति ज्योतिषबाट तोकियो । मिति सुन्दा म अक्क न बक्क भएँ । विवाहको मिति पनि फागुन पाँच अर्थात निशाको स्मृति दिवशमै परेको थियो । मिति टार्ने भरमग्दूर कोसिस गरेँ । अरु लगनको खडेरी परेको त्यो वर्षमा टार्नै सकिनँ ।

विवाह पछि हनिमुन जाने कुरा आयो । निशाको अन्तिम इच्छा पुरा गर्न मैले प्रस्ताव राखेँ पोखराको । श्रीमतीले 'मलाई पोखरा पटक्कै मन पर्दैन' भन्दै टारिन् । बरु दामनतिर जाऔँ । हिउँ पर्ने बेला पनि हो । हिउँमा रमाउन पनि पाइन्छ । दुवैको प्रस्तावको लामै द्वन्द भयो, म हारेँ । परिवारको पनि मेरो नवजीवनको उषाकालमा नवदुलहीप्रति बाक्लै सहानुभूति भएकोले दामन नै जान बाध्य भएँ । हनिमुनको स्वप्निल हिउँमा शितलिनुको सट्टा आगोमा पोलिएर न्यास्रिएर फर्केँ । हनिमुन केवल श्रीमतीको दुई थान हाँसोमा सिमित भयो ।

विवाह भएको पहिलो वर्षान्तमा श्रीमती एमए पास भएको थियो । कुनै ठूलो सपिङ्गमलमा सपिङ्ग गराउने इच्छा जाहेर गरेँ । श्रीमती खुसी नै भई । सपिङ्ग मलतिर लगेर पहेँलो निकै महँगो खाले साडीको अर्डर गर्दा उनले 'मलाई पहेँलो रंग फिटिक्कै मन पर्दैन । जोगिनी जस्तो लाग्छ । हरियो कलरको जुन बुट्टे साडी किने पनि हुन्छ' भन्दै जिद गर्न थालिन् । मैले पहेँलो रंगको सारीमा इच्छा देखाउनुको कारण उस्लाई सम्झाउनै सकिनँ । रंगको छनौटमा पनि उसैले जिति, म हारेँ । निशाको अन्तिम सपना त्यहाँ पनि हार्यो ।

यसरी नै दिन बित्दै गयो । विवाहको तेश्रो वर्ष । फागुन पाँचको मेरिज एनिभर्सरी मनाउन उस्ले एउटा सरप्राइज केक ल्याएको रहेछ । मैले केकमा खासै दिलचस्पी नदिँदा उस्ले चित्त दुखाउँदै बोलेकी थिई, ‘विवाह भएको तीन वर्ष भइसक्यो । आजसम्म तँपाईले त मेरो कुनै पनि खुसीमा साथ नै दिनु भएको छैन । थाहाँ छैन, तपाईको मनमा के कुरा खेलिरहेको छ ? एउटी पत्नी चाहिएको छ तपाईलाई, यो समाजमा देखाउनको लागि । वंश चलाउनका लागि, सन्तान जन्माउने एउटा मेसिन चाहिएको छ ।’

आँखाभरि आँसु टिलपिल्याएर फेरि बोली, ‘आज फागुन पाँच भनेर पनि तपाईले बिर्सनु भयो होला । आजकै दिन हो हामी एकाकार भएको । यही एकाकार दिवशलाई खुसीले रंगाउन केक ल्याएको छु । म चाहन्छु यो केक तपाईको हातबाट काटियोस् ।’ उस्ले टेबुलमा केकको छेवैमा रहेको चक्कुतिर आँखा झुकाई ।

यस्तो लाग्छ, तपाईको बाहिर अरु नै कोही स्त्री छ । बाहिर स्त्री नहुने कोही पनि पुरुषले एउटी स्त्रीको भरिलो जवानीलाई पाएर पनि आँखा चिम्लेर बस्न सक्दैन । पुष्ट स्त्रीको शरीर देखेर हजार वर्ष कठोर तपस्या गर्ने विश्वामित्र ऋषिका आाँखा त उघ्रिएका थिए

फेरि मतिर हेर्दै बोली, ‘तपाईका आँखामा मेरिज एनिभर्सरीको दिन पनि पीडाको आँसु !’

मैले आफ्नो आँसु न त लुकाउनै सकेँ न त्यस्को रहस्य चक्कुले केक चिरे जस्तो चिर्नै सकेँ । आज निशाको स्मृति दिवश हो र म उनैको स्मृतिमा हराउँदै छु भनेर भन्न सकिनँ । कस्तो संयोग जिन्दगीको, कस्तो मजाक समयको मप्रति ! एकातिर श्रीमतीको मेरीज एनिभर्सरीको खुसीको केक लडिरहेको छ, अर्कोतिर स्मृतिमा आफ्नी पूर्वप्रेमिकाको लास जलिरहेको छ । म किंकर्तव्यविमूढ भएर केकतिर यसो हेरेँ ।

एकछिन पछि श्रीमतीले मेरीज एनिभर्सरी अंकित केकमा चक्कुले घाउ बनाएर, त्यस्को सानो टुक्रा मेरो ओठमा जर्वजस्ती घुसारी । जर्वजस्ती घुसारिएको गुलियो केकको टुक्रा पनि सारै तितो लाग्यो । केकले मेरो मुखभित्र छिरेर आफ्नो धर्म भुल्यो । त्यतिबेला मात्र मेरो स्मृतिमा आइरहेको थियो निशालाई बोलेको एक एक वाक्यहरु, तिमी बिनाको जीवन त कल्पना पनि गर्न सक्दिनँ । म कसैसित पनि विवाह गर्दिन । तर, केकका मोटा मोटा अक्षरहरु, मेरीज एनिभर्सरीले मलाई ब्यङ्ग्य नै गरिरहेको थियो । सम्हाल्न सकिनँ र त्यहाँबाट उठेर अर्को कोठामा गएँ । मेरो यस्तो हर्कतले श्रीमती चिसिएका आँखा लिएर टोलाएर बसिरही ।

राति मैले ऊ कोठामा प्रवेश गरेको पनि चाल नपाए जस्तो गरी आँखा चिम्लेर बसिरहेँ । आफ्ना लुगा फुकाली टेबुलमा अव्यवस्थित नै छोडेर नाइटवेयर लगाई र म नसुतेको नै चाल पाएर होला, लामो सुस्केरा फेर्दै गुनासो गरी, ‘यस्तो लाग्छ, तपाईको बाहिर अरु नै कोही स्त्री छ । बाहिर स्त्री नहुने कोही पनि पुरुषले एउटी स्त्रीको भरिलो जवानीलाई पाएर पनि आँखा चिम्लेर बस्न सक्दैन । पुष्ट स्त्रीको शरीर देखेर हजार वर्ष कठोर तपस्या गर्ने विश्वामित्र ऋषिका आाँखा त उघ्रिएका थिए । तपाईका आँखा त एउटा सामान्य पुरुषको आँखा मात्र हो ।’

एकक्षण चुप लागेर फेरि बोली, ‘एनिभर्सरीको केक लत्याएर हिँडने यो संसारमा तपाई मात्र होला । बाहिर कोही छ भने ल्याउनुस्, हजुरको खुसीको लागि मलाई सौता स्वीकार्न पनि मञ्जुर छ ।’

मैले सहन सकिनँ । रिसाएर जवाफ फर्काएँ; ‘हो... सौता छ तिम्रो ।’

‘कहाँ ?’

‘मेरो मुटुमा ।’ कठोर बनें ।

‘ऊ अहिले कहाँ छे ? भन त उस्को वारेमा । कहाँ छे ऊ ? म आफै लिएर आउँछु उस्लाई यो घरमा ।’ उस्ले ढिपि गरी ।

‘जाऊ, लिएर आऊ सौतालाई, पल्लो कोठाको लाइब्रेरीको डायरीमा छ ।’ पहिलो पटक रहस्य चिर्दै, रिसले बोल्दै मैले सिरकले आफूलाई गम्लर्म छोपें ।

यति भनेको केही दिनपछि मेरो जीवनको अति प्रिय एउटा डायरी हरायो । केही दिनपछि डायरी उहीँ ठाउँमा भेटाएँ ।

केही दिन सामान्य रुपमा बित्यो । श्रीमती गर्भवति भई । लिङ्ग पहिचान गर्ने क्रममा छोरी भनेर जानकारी पाएँ । निकै खुसी थिएँ म त्यो दिन । उनले भिडियो एक्सरे गरेर लिङ्ग पहिचान गरेको दिन जिस्किँदै सोधेकी थिई, ‘डाक्टरले भिडियो एक्सरेमा छोरी भन्नु भएको छ । अव छोरी जन्मियो भने हजुरले नाम के राख्नुहुन्छ ?’

मेरो हरेक प्रस्ताव हारेकोले उस्को प्रश्नलाई नसुने जस्तो गरेर लत्याएर बसेँ । उसैले फेरि प्रतिप्रश्न गरी ‘म राखुँ ?’

‘ओके ।’

‘निशा ।’

म छक्क परेँ ।

‘के भन्यौ ?’ मैले सोधेँ ।  

‘निशा ।’

‘कसरी थाहाँ पायौ ?’

‘जसरी तपाईले आफ्नो डायरी हराएको थाहा पाउनु भयो ।’

म मौन भएँ ।

त्यस्को केही दिनपछि हामी डाक्टर कहाँ गयौ । महिना पुगिसकेको थियो । ‘डाक्टरको सामान्य चेकअपपछि श्रीमतीले सोधी, ‘डाक्टर साहेव, बच्चा जन्मिने सम्भावित मिति कहिले होला ?’

‘फागुन यस्तै ५, ६ गतेको चान्सेस धेरै छ । बच्चा उल्टो बसेकोले सि सेक्सन गर्नुपर्छ ।’

श्रीमती मुसुक्क हाँसे र डाक्टरलाई भनी, ‘उसो भए फागुन ५ गते नै अप्रेसन गर्नुस् ।’ यति भनेर, लजाउँदै मेरो शरीरमा अडेस लिई ।

मैले पहिलो पटक श्रीमतीलाई जिस्किँदै बोलेँ, ‘उसो भए तिम्रो सौतालाई फागुन पाँचमै यो धर्तीमा झार्ने भयो होइन र ?’

श्रीमतीले आफ्नो पेटमा नजरर घोप्टयाएर बोली, ‘निशा, तिमीलाई यो धर्तीमा ५ गते नै वेल्कम, ६ मा होइन ।’

म उस्को लाम्चो, चुच्चो परेको पेटमा स्नेहालु हात सल्बलाउँदै हासेँ । यति मीठो हाँसो सायद हाम्रो दाम्पत्य जीवनको पहिलो हाँसो थियो । पेटमा कोही जुरुक उफ्रियो । मैले जिस्किँदै सोधेँ, ‘को उफ्रेको यो ?’

श्रीमतीले कानै छेउमा हावाले बोली, निशा ।’ फेरि अलिक ठूलो स्वरमा भनी, ‘सुन्नु भएन, निशा । अझ नसुनेको भए भनुँ, निशा, निशा, निशा...।’ चारैतिर निशासिवाय केही सुनिएन । मैले खुसीले आकासतिर पुलुक्क हेरें । यस्तो लाग्यो, निशा हाँसेर माथि निलो आकासबाट मसित आँखा जुधाइरहेकी छिन् । श्रीमतीको खित्खितिमा पनि निशा नै गुन्जिरहेको आभाष भयो । पलक्षणको लागि निशा मञ्चित भयो... निशासिवाय केही सुनिनँ । श्रीमतीको ममतालु पेटमा हात राखेर, पहेँलो साडीमा सुसज्जित श्रीमतीलाई हेरी रहें ।

ad-archer