फिचर

विवादमा फसेपछि यो वर्षको पद्मश्री पुरस्कार रद्द

काठमाडौं । यस वर्ष कुनै पनि श्रष्टाले पद्मश्री पुरस्कार नपाउने भएका छन् । यसअघि सञ्जीव उप्रेती र मोदनाथ प्रश्रितलाई यो पुरस्कार दिने निर्णय खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले गरेको थियो । तर, पात्रहरुबीच नै आरोप प्रत्यारोप र विवाद भएपछि अन्ततः पुरस्कार नै रद्द गरिएको छ ।

आइतबार यो वर्षको पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय भएको थियो । पुरस्कार दिने निर्णय भएकै दिन मोदनाथ प्रश्रितमाथि यौन उत्पीडनको आरोप रहेकाले उनीसँगै उभिएर आफुले पुरस्कार लिन नसक्ने उप्रेतीले बताएका थिए ।

सोमबार गलत आरोप लगाएर आफुलाई विवादमा तान्न खोजिएको भन्दै प्रश्रितले पनि पुरस्कार नलिने घोषणा गरेका थिए । त्यसपछि प्रतिस्ष्ठानले यो वर्ष पुरस्कार नै वितरण नगर्ने घोषणा गरेको हो । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति निकालेर यसको पुष्टी गरेका छन् ।

पुरस्कारका लागि छनोट भएका दुवै प्रतिभाले पुरस्कार अस्वीकार गर्ने घोषणा गरेपछि उनीहरुको इच्छालाई कदर गर्दै यस्तो निर्णयमा पुग्नु परेको उनको भनाई छ । प्रतिष्ठानको उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुर्याउने नभएको र उत्पन्न असहजताका लागि दुःखी भएको उनको भनाई छ ।

प्रतिष्ठानले २०६३ सालदेखि प्रत्येक वर्षको उत्कृष्ट कृतिका लागि पद्मश्री साहित्य पुरस्कार र समग्र साहित्य क्षेत्रमा गरेको योगदानका आधारमा पद्मश्री साधना सम्मान प्रदान गर्दै आइरहेको छ ।