अमेरिका

नेपाली समुदायका शाही न्युयोर्कस्थित अस्पतालको एड्भाइजरी बोर्डमा नियुक्त

न्युयोर्क 

न्युयोर्क सिटी हेल्थ एण्ड हस्पिटल अन्तर्गतको क्वीन्सस्थित एल्म्हर्ष्ट अस्पतालको कम्युनिटी एडभाईजरी बोर्डमा नेपाली समुदायका मिलन कुमार शाहीको नियुक्ति भएको छ । यही अक्टोबर ७, २०२० देखि कार्यकाल प्रारम्भ हुने गरी दुई वर्षको लागि शाहीलाई न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सामुदायिक एल्महर्ष्ट अस्पतालको बोर्डमा नियुक्त गरिएको हो। 

विभिन्न समुदायको तर्फबाट अस्पतालको बोर्डमा जम्मा २५ जनालाई नियुक्ति गर्ने प्रावधान रहेको छ । राज्यले समुदाय र अस्पताल बीचको सम्बन्धलाई मजबुत बनाउन र उपलब्ध स्वास्थ्य सेवा सम्बन्धि जानकारी समुदाय माझमा पुर्याउनका लागि सबैको सहभागितालाई महत्व दिदै एड्भाइजरी बोर्डको व्यवस्था गरिएको हुन्छ । 

नवनियुक्त शाही बताउँछन्; “अस्पताल सबैको हो, हाम्रो पनि हो । नेपाली समुदायमा जानकारीको अभावले कोही पनि उपलब्ध सेवाबाट बञ्चित हुन नदिने कुरामा म सचेत छु । दोभाषेको प्रयोग तथा सबैको पहुँचको लागि कुनै कसर बाँकी राख्दिन” । नियुक्तिको बारेमा; स्थानीय न्युयोर्क सरकारले समुदायका अगुवाहरु मध्येबाट अस्पतालको बोर्डमा नियुक्ति गर्ने प्रचलन रहेको समेत शाहीले बताएका छन । 

मिलन कुमार शाही नेपालको रुपन्देहीको छपियामा जन्मिएर सन् २००३ सालमा डिभी मार्फत स-परिवार अमेरिका प्रवेश गरेका थिए । शाहीले रिजवुड नेपाली समाजमा सचिव एवम् उपाध्यक्षको पदमा रही डेढ दशक भन्दा बढी सेवा पुर्याइ सकेका छन् । शाही हाल ‘दर्शन ठकुरी समाज ‘न्युयोर्कका अध्यक्ष पनि हुन । लामो समयदेखि न्युयोर्कमा ब्यापार ब्यवसाय गर्दै आएका उनी रियल्टर समेत हुन ।