फिचर

अमेरिकासहित तीन मुलुकका राजदूतबारे उजुरी माग

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ प्रक्रिया थालेको छ ।

सरकारले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, बेलायतका लागि पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नाम प्रस्ताव गरेको थियो । उनीहरुको नाम संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको हो । सोही अनुसार समितिले सर्वसाधारणबाट उजुरी माग गरेको छ ।

समितिको बुधबार बसेको बैठकले प्रस्तावित राजदूतत्रयका सम्बन्धमा कुनै गुनासो, उजुरी वा सिकायत भए १० दिनभित्र समितिसमक्ष उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ । त्यसका लागि सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।

ती पदमा उनीहरुलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन सकिने भएको छ । सरकारले १५ असोजमा उनीहरुको नाम सिफारिस गरेको थियो ।