खेलकुद

धोनीको टीम चेन्नाईलाई बढ्दो संकट, कोहली चम्किएपछि फेरी हार्यो

दुबई । जारी इण्डियन प्रिमियर लिगमा तीन पटकको उपाधी विजेता चेन्नाई सुपर किंग्स निरन्रता हार बेहोर्न बाध्य भएको छ । यसले कप्तान महेन्द्रसिहं धोनीको टीम लिग चरणबाटै बाहिरिने सम्भावना समेत बढेको छ । शनिबार राती सम्पन्न खेलमा पनि रोयल च्यालेन्जर्स बैंग्लोरले चेन्नाई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको हो । यो जारी लिगमा पाँचौ हार हो ।

शनिबार कप्तान बिराट कोहली चम्किए । उनले ९० रनको अविजित पारी खेले । बैंग्लोरले चेन्नाईसामु १७० रनको लक्ष्य राखेको थियो । चेन्नाई निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १३२ रनमा समेटियो ।


चेन्नाईका लागि अम्बाती रायडुले सर्वाधिक ४२ रन बनाए । बैंग्लोरका लागि क्रिस मोरिसले ३ र वाशिंग्टन सुन्दरले २ विकेट लिए । जारी आईपीएल प्रतियोगितामा बैंग्लोरको यो चौथो जित हो ।


दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । बैंग्लोरका लागि कप्तान बिराट कोहलीले ५२ मा ४ चौका र ४ छक्का प्रहार गर्दै ९० रन जोडेका थिए ।