फिचर

अर्थशास्त्रको नोबेल पुरस्कार लिलामी सिद्धान्तको नयाँ ‘फर्म्याट’ विकास गर्ने दुई अमेरिकी अर्थशास्त्रीलाई

काठमाडौं । दुई अमेरिकी अर्थशास्त्रीहरु पल मिलग्रोम र रोर्बट विल्सनले अर्थशास्त्र तर्फको नोबल पुरस्कार प्राप्त गरेका छन् । लिलामी सिद्धान्त (अक्सन थ्यौरी) मा योगदान दिए वापत उनीहरुलाई नोबल पुरस्कार प्रदान गरिएको हो ।

लिलामीले विभिन्न उत्पादन, कला, वस्तुहरु लगायत बेच्न सघाउँछ । यसमा विल्सनले किन खरिदकर्ताहरु आफूले खरिद गर्न लागेको वस्तुको आफूले सोचेको वास्तविक मूल्य भन्दा कम कबोल्छन् भन्ने सन्र्दभमा सिद्धान्त विकास गरेका थिए । मिलग्रोमले भने लिलामीमा भाग लिने खरिदकर्ताहरुको व्यक्तिगत मूल्य एकआपसमा कसरी फरक हुन्छ भन्नेमा अध्ययन गरेर सिद्धान्त विकास गरेका थिए ।

यी सिद्धान्तहरुले लिलामीमा नयाँ ‘र्फम्याट’ विकास गरेको बताइएको छ ।यी दुई प्राज्ञहरुले आधारभूत सिद्धान्तबाट शुरु गरेको र त्यसबाट प्राप्त नतिजालाई व्यवहारिक प्रयोगमा ल्याएको पुरस्कार कमिटिका अध्यक्ष पिटर फेड्रिक्सनले जारी गरेको प्रेस रिलिजमा उल्लेख गरिएको छ ।

मिलग्रोम सन् १९४८ मा अमेरिकाको डेट्रोइटमा जन्मेका थिए । उनले अमेरिकाको स्टान्फर्ड विश्वविद्यालयबाट सन् १९७९ मा विद्यावारिधी गरेका थिए । यसैगरी विल्सन सन् १९३७ मा स्वीट्जरल्यान्डको जेनेभामा जन्मिएका थिए । उनले आफ्नो अध्ययन अमेरिकाको हार्वड विश्वविद्यालयबाट गरेका हुन् ।