समाचार

क्यान्सरको क्रुरतासँग गलेका तामाङ स्वदेश फर्कँदै, आर्थिक सहयोगको अपिल

न्यूह्यामसर

सुन्दर जीवनको सपना साँचेर अमेरिका आइपुगेका युवा विक्रम तामाङलाई क्यान्सरको गम्भीर संक्रमणले सताएपछि सहयोगका लागि आर्थिक संकलन सुरु गरिएको छ । तामाङलाई गत जुनमा चौथो स्टेजको ठूलो आन्दा (कोलोन) र कलेजो (लिवर) क्यान्सर पुष्टि भएको थियो ।

इलाममा जन्मिएका तामाङ सात बर्ष अघि अमेरिका आइपुगेका थिए । उनी न्यूह्यामसरको म्यानचेष्टरमा बसोबास गर्दै आएका छन् । परिवारलाई अमेरिका ल्याएर सुखी जीवन बिताउने उनको सपना अधुरो रहन पुगेको छ । उनले परिवारलाई आफुसँगै ल्याउने मेसो मिलाउँदै गर्दा क्यान्सरको सामना गर्नु परेको हो । खाडी क्षेत्रका बिभिन्न मुलुकमा पसिना बगाएपछि उनी अमेरिका आइ पुगेका थिए । तर, अनेक संघर्ष र कष्ट झेल्दै आइपुगेको सपनाको देशमा उनले सोचे जसरी आफ्नो भविश्य तय गर्न सकेनन् र रोग बोकेरै भए पनि परिवार भेट्न नेपाल फर्किने निश्कर्षमा पुगेका छन् ।

सुरुमा उपचारका लागि केमो थेरापी चलाए पनि पछिल्लो समय उनको शरिरले त्यसलाई पचाउन नसकेको डाक्टरहरुको निश्कर्ष छ । केमो चलाउँदा उनी निरन्तर वेहोस हुन थालेपछि चिकित्सकले उपचार विधीनै परिवर्तन गरेका छन् । अब तामाङलाई औषधी मात्र दिने उनीहरुको निर्णय छ ।

कोही कोही बेला सामान्य पेट दुख्ने गरे पनि उनमा ठूलो रोगको लक्षण देखिएको थिएन । गत जुनमा औधी पेट दुखेपछि ‘अर्जेन्ट केयर’ गएर जचाउँदा क्यान्सर पुष्टि भयो त्यो पनि निको हुन कठिन पर्ने चौथो चरणको । तामाङ छाँगाबाट खसेजस्तै भए । तर, नियतिले दिएको चोट सहनुको विकल्प उनमा थिएन । केही दिन त नेपालमा रहेका श्रीमती र छोरोलाई सुनाउन आँट पनि गरेनन् ।

सात बर्ष देखि टाढा रहेको पति एवं पितालाई निको हुनै गाह्रो पर्ने रोग लागेको सुन्दा उनीहरुलाई कति भाउन्न होला भन्ने चिन्ताले तामाङ पिरोलिए । तर, सधैँ लुकाएर कसरी साध्ये लागोस् । अन्ततः क्यान्सरको उपचार सुरु भएको जानकारी दिए । सुरुमा आफु संसारको सबैभन्दा आधुनिक स्वास्थ्य सेवा उपलब्ध देशमा रहेको र छिट्टै निको भएर उनीहरुलाई आफुसँगै अमेरिका बोलाउने आश्वासन दिएर परिवारलाई शान्त पार्ने प्रयास गरे । तर, त्यो आश्वासन पनि अब बदलिइ सकेको छ । उनले सबैलाई भेट्न सक्दो चाँढो आफैँ नेपाल फर्किने र बाँकी जीवन साथमा विताउने जनाउ परिवारलाई दिइ सकेका हुन् । नोभेम्बरमा नेपाल फर्कने तामाङको तयारी छ ।

तामाङको रोगको जटिलता चर्किँदै गएपछि उनलाई परिवार मिलनका लागि स्वदेश फर्किन सहज होस् भनेर न्यूह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङ, महासचिव माधव गुरुङ, उनका बालसखा एवं गायक रोशन गुरुङ लगायतको अगुवाइमा गोफण्डमी डट कमबाट आर्थिक सहयोग संकलन सुरु गरिएको हो । संकलित रकमबाट उनलाई नेपाल फर्कन मात्र नभइ बाँकी उपचारमा पनि केही राहत हुने अपेक्षा लिएको समाजका अध्यक्ष गुरुङको भनाइ छ ।

तलको लिंक क्लिक गरेर तामाङलाई सहयोग गर्न सकिन्छ ।

https://www.gofundme.com/f/appeal-to-support-bikram?utm_source=customer&utm_campaign=m_pd%20share-sheet&utm_medium=copy_link_all&fbclid=IwAR3M4aqxInx1DlZBhoij-DuEJLHQFXx6X-zNrlWzw6CQ4YQsp5e3-egeNq0