खेलकुद

विश्वकप छनोट : नेयमार चम्किएको खेलमा ब्राजिल विजयी

Photo source : CBS sports

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र पेरुबीचको खेलमा ब्राजिलियन स्टार नेयमारले उत्कृष्ट खेल कौशल देखाए । उनले ह्याट्रिक गरेको खेलमा ब्राजिलले पेरुमाथि ४-२ गोल अन्तरको जित निकाल्यो । नेइमारका पहिलो दुई गोल पेनाल्टी थिए । दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल थप्दै उनले ह्याट्रिक पुरा गरे ।

बुधबार बिहान भएको खेलमा ह्याट्रिक गरेका नेइमार ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा समेत उक्लिए । उनले रोनाल्डोको कीर्तिमान तोडेका हुन् । नेइमारले १०३ खेलबाट देशका लागि ६४ गोल गरिसकेका छन्।

रोनाल्डोले भने ब्राजिलका लागि ९८ खेलबाट ६२ गोल गरेका थिए। पहिलो नम्बरमा पेले छन् । पेलेले ब्राजिलका लागि ७७ गोल गरेका छन् । एजेन्सी