खेलकुद

लयमा फर्कियो अर्जेन्टिना, लगातार दोस्रो खेलमा जित

Photo Source : CBS sport

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले संतोषजनक खेल देखाइरहेको छ । यसअघि स्टार खेलाडी मेसीमा अधिक भर पर्ने यो टोलीमा अब भने अन्य खेलाडीले समेत कौशल देखाउन थालेका छन् ।

बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले दोस्रो खेलमा बोलिभियामाथि २-१ गोल अन्तरको जित निकाल्यो । खेलमा अर्जेन्टिनाले एक गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो ।
खेलको २४ मिनेटमा घरेलु टिम बोलिभियाले खेलमा अग्रता लियो । उसका लागि मार्टिन्सले गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा अर्जेन्टिनाले बराबरी गोल फर्कायो ।

टोलीका लागि मार्टिनेजले दर्शनीय गोल गरेका थिए । दोस्रो हाफमा मैदान छिरेका योकिन कोरियाले ७९ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई जित तर्फ डोर्याएका थिए । कप्तान मेसी र फरवार्ड मार्टिनेजको तालमेलबाट निस्किएको सटीक पासलाई उनले गोलमा परिणत गरेका थिए । त्यसपछि दुबै टोलीबाट थप गोल भएनन् । एजेन्सी